नेकपा एमालेद्वारा ०८२ चैत १५ गते हेटौँडामा आयोजित प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका सदस्य सन्तोष बिक र क्यामेरा पर्सन चक्र बोहरामाथि पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् ।
घटनाका बारेमा स्वतन्त्र पत्रकार संघ मकवानपुरले एक विज्ञप्ती जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारविरुद्ध हुने यस किसिमको घटनाले गम्भीर आघात पुर्याएको जनाएको छ ।
संघले उक्त घटनाप्रति जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेपाल प्रहरीलगायत सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीहरूले सुरक्षित रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न सक्ने वातावरण सुनिश्चित गर्न तत्काल प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जोडदार माग गरेको छ । साथै, कार्यक्रम आयोजक तथा सम्बन्धित पक्षलाई संयमित र जिम्मेवार भई सञ्चारकर्मीको सुरक्षाप्रति संवेदनशील हुन ध्यानाकर्षण गराएको विज्ञप्तीमा उल्लेख छ ।