INSEC Online

📅 २०८३ जेष्ठ २१

मुसहरमा बस्तीमा आगलागी, राहतको आशामा अग्नीपिडित

बुढीगङ्गा गाउँपालिका–३ मा रहेको मुसहर बस्तीमा चैत ४ गते आगलागी हुँदा ११ ओटा घर जलेर नष्ट भएका छन् ।

आगलागीपछि ११ घरमा अग्नीपीडित परिवारको राहतको आशामा बसेका छन् । अति सिमान्तकृत जातिमा सूचीकृत मुसहरबस्तीमा आगलागी भएपछि उनीहरू आधारभूत मानव अधिकारबाट समेत वञ्चित हुनु परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताउनु भयो ।

कोशी लोकमार्गको गोकुवा चोकबाट करिब डेढ किलोमिटर पूर्वतर्फ रहेको मुसहर बस्तीमा आगलागी हुँदा ११ ओटा घरसहित लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको छ ।

विराटनगर महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो निभाइएको भएपनि फुसका घर भएका कारण आगो नियन्त्रणमा लिइसक्दा बस्तीका सबै ११ ओटा घर नै जलेर नष्ट भएको डिएसपी लामिछानेले बताउनु भयो ।

सोनी ऋषिदेवको घरबाट अचानक आगलागी सुरू भएपछि सिङ्गो बस्तीमा फैलिएको थियो ।

आगलागीबाट १ करोड १७ लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीपछि पीडित परिवारहरूको बिचल्ली भएको छ । भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर मुसहर समुदायका परिवारहरूको आश्रय नै नष्ट भएपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् । घरसँगै लत्ताकपडा, अन्नपात र दैनिक प्रयोगका सबै सामग्री जलेपछि सिङ्गोबस्तीका अग्नी पीडित आधारभूत मानव अधिकारबाट वञ्चित भएको वडाध्यक्षक तिलकनाथ मण्डलले बताउनु भयो । आगलागीपछि घरमा भएका सबै कुरा जलेर नष्ट हुँदा ज्येष्ठ नागरिक, बालबालिका भोकभोकै बस्न बाध्य भएको वडाध्यक्ष मण्डलले बताउनु भयो । अग्नी पीडितहरूलाई राहतका लागि आफूले प्रयास गरिरहेको वडाध्यक्ष मण्डलको भनाइ छ ।

तत्कालका लागि पीडितहरुलाई जनता आधारभूत विद्यालयमा राखिएको छ । उनीहरू राहतको आशामा रहेको वडाध्यक्ष तिलकनाथ मण्डलको भनाइ छ ।

विनोद सुवेदी

अन्य

भिडियो