गणेशमान चारनाथ नगरपालिका–४ की २५ वर्षीया विभाकुमारी महतोको २०८२ चैत ३ गते हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति मुकेश धनखोटीलाई चैत ४ गते गिरफ्तार गरेको छ।
मृतकका दाजु मनिषकुमार महतोका अनुसार विभाकुमारी चैत ३ गते दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनीहरुले पाँच वर्षअघि अन्तरजातीय विवाह गरेका थिए। विवाहपश्चात् लामो समयसम्म सन्तान नभएको विषयलाई लिएर आफ्नो बहिनीमाथि परिवारबाट शारीरिक तथा मानसिक यातना दिइँदै आएको थियो। मृतकको शरीरमा नीलडाम देखिएको भन्दै माइती पक्षले घटनालाई शंकास्पद बताउँदै हत्या गरिएको दाबी गरेका छन्।
माइती पक्षले आरोपित विरुद्ध चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
शवको पोस्टमार्टम चैत्र ४ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको पतिलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाएको डीएसपी गणेश बहादुर बमले जानकारी गराउनुभयो।