INSEC Online

📅 २०८३ जेष्ठ २१

प्युठानमा जिल्ला अस्पतालमा औषधि अभाव, बिरामी सास्तीमा

प्यूठान जिल्ला अस्पतालमा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन्। लामो समयदेखि लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमै औषधि उपलब्ध नगराउँदा अत्यावश्यक औषधिहरूको अभाव भएको हो।

अस्पतालका स्टोरकिपर नविन थापाका अनुसार सिटामोल, गर्भवती महिलाका लागि आवश्यक आइरन चक्की तथा ग्यास्ट्रिकसम्बन्धी औषधिहरूको अभाव छ। “सिटामोल स्टकमा छैन, करिब ७–८ महिनादेखि गर्भवती महिलालाई आइरन दिन सकिएको छैन,” उनले भने, “धेरै खपत हुने औषधिहरू छिट्टै सकिन्छन्।”

प्रदेश सरकारमार्फत प्राप्त हुने औषधि समयमै नआउँदा समस्या भएको अस्पतालले जनाएको छ। प्रदेश सरकारले प्रदेशअन्तर्गतका अस्पतालहरूमा ९८ प्रकारका औषधि उपलब्ध गराउनुपर्ने भए पनि चालु आर्थिक वर्षमा ती औषधि प्राप्त नभएको बताइएको छ। औषधि खरिद प्रक्रिया जारी रहेको र खरिदपछि पठाइने जानकारी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई उद्धृत गर्दै अस्पतालले जनाएको छ।

जिल्ला अस्पताल बिजुवारमा आइरन चक्की नपाउँदा आफूले निजी मेडिकलबाट किनेर खानुपरेको प्यूठान नगरपालिका–३ की २६ वर्षीया लक्ष्मी कुँवरले गुनासो गर्नुभयो । त्यस्तै, सामान्यतया सहजै पाइने सिटामोलसमेत नपाउँदा निजी मेडिकलबाट किन्नुपरेको प्यूठान नगरपालिका–४ की कमला सुनारले बताउनुभयो ।

जिल्ला अस्पतालका निमित्त प्रमुख डा. सुवास पौडेलका अनुसार स्थानीय तहले आफ्नै प्रक्रियाबाट औषधि खरिद गर्ने भएकाले स्थानीय स्वास्थ्य केन्द्रहरूमा समस्या कम देखिए पनि जिल्ला अस्पतालमा प्रदेशमार्फत आपूर्ति हुने प्रणालीका कारण अभाव हुने गरेको छ।

अस्पतालमा बिरामीको चाप बढी हुनुका साथै सरकारले निःशुल्क वितरण गर्ने औषधिको खपत उच्च भएकाले बेलाबेलामा अभाव हुने गरेको उहाँले बताउनुभयो । हाल अभाव भएका औषधिहरू माग गरिएको र छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनु भयो ।

रविन्द्र पाण्डे

अन्य

भिडियो