फागुन २१ भएको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न सक्ने आशंकामा गिरफ्तार भएका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले फागुन २६ गते साधारण तारिखमा रिहा गरेको छ । प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा फागुन १३ गते वीरेन्द्रनगर नगरपालिका– १ का क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ६६ वर्षीय नारायण न्यौपाने, कालीकोटको नरहरीनाथ गाउँपालिका– ७ का वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका ३० वर्षीय जिल्ला सचिव धीर दर्जी (डेबिट परियार), सान्नी त्रिवेणी गाउँपालिका– ६ का क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्युरो सदस्य ४१ वर्षीय कर्णबहादुर बिसी, कैलालीको धनगढी उपमहानगरपालिका– १२ का वैज्ञानिक समाजवादीका जिल्ला सचिव श्याम कुवँर, सुर्खेतको वीरेन्द्रनगर– ११ का बहुमत पार्टीका जिल्ला सचिव ३८ वर्षीय राजु भनिने राजकुमार पौडेल, सुर्खेतकै भेरीगंगा नगरपालिका– १२ का नेकपा (क्रान्तिकारी)का जिल्ला सचिव ५४ वर्षीय रन्तबहादुर वली, भेरीगंगा नगरपालिका–९ का वटा कमिटी सदस्य ६६ वर्षीय पूर्ण तिरुवा र रुकुम पश्चिमको चौरजारी नगरपालिका– ८ का ३८ वर्षीय मानबहादुर मल्ललाई गिरफ्तार गरेको थियो । गिरफ्तार भएकाहरुलाई १२ दिनपछि साधारण तारिखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथाले बताउनु भयो । उहाँका अनुसार माघ २४ गते वीरेन्द्रनगर नगरपालिकामा अनुमति बिना मोटरसाइकल र्याली निकाल्दै सार्वजनिक शान्ति सुरक्षा खलल पुर्याएको आरोपमा गिरफ्तार भएका आठ जनालाई समेत यसअघि नै रिहा गरिएको छ ।