कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको एक्सरे मेसिन एक सातादेखि बिग्रेपछि सेवाग्राही मर्कामा परेका छन् ।
भौगोलिक रुपमा विकट जुम्लासहित कर्णालीमा दैनिक चोटपटक लाग्ने, लड्ने र हड्डीका बिरामी बढी अस्पतालमा बढी आउने तर एक्सरे मेसिन विग्रेपछि सेवाग्राही मर्कामा परेका हुन् ।
अस्पतालमा रहेको मुख्य एक्सरे मेसिन बिग्रिएको लामो समय बिति सक्दा पनि मर्मत हुन नसक्दा टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरूले सास्ती पाउने गरेका छन् ।
सामान्य चोटपटक, दुर्घटना, हाडजोर्नी समस्या, छाती तथा फोक्सो सम्बन्धी रोगका बिरामीहरु एक्सरे बन्द हुँदा बढी प्रभावित भएका छन् ।
प्रतिष्ठानमा एक्सरे सेवा नहुँदा स्थानीय नीजि मेडिकल धाउन बाध्य छन् । एक्सरे सेवा ठप्प भएको, नागरिकले दुख पाएको विषयलाई प्रतिष्ठानका पदाधिकारीले गम्भीरता पूर्वक लिएका छैनन् ।
सेवा अबरुद्वसमेत संचालनबारे त्यति चासो नदिएको पाइएको छ । मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत वा नयाँ उपकरण व्यवस्थापनका लागि ठोस कदम नचालिएको भन्दै स्थानीय तथा स्वास्थ्यकर्मीहरू असन्तुष्ट बनेका छन् ।
लामो समयदेखि एक्सरे सेवा ठप्प हुनुले समग्र प्रतिष्ठानका पदाधिकारी तथा सम्बन्धित विभागका कर्मचारी प्रति नागरिकले गुनासो गरेका छन् ।
एक्सरे डिपार्टमेन्टका रेडियोग्राफर सतल रेउलेले एक्सरे मेसिन फागुन १९ गते रातिबाट अचानक बिग्रेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एक्सरे मेसिनको केबिमिटरमा समस्या आएकाले मर्मतका लागि जिल्ला बाहिर पठाइएको छ । एक्सरे मेसिन बिग्रने र चुनाव बिदासँगै भएकाले मर्मतमा ढिला भएको हो । अझै ४÷५ दिनमा एक्सरे सेवा संचालन हुने छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर कमल थानीले बिग्रिएको एक्सरे मेसिन मर्मतका लागि पठाईएको बताउनु भयो ।
गत साता एक्सरे मेसिनको एक पार्टमा समस्या आएपछि मर्मत गर्न पठाईएको उहाँले बताउनु भयो ।
पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको भरोसा केन्द्रका रुपमा उक्त प्रतिष्ठानलाई लिइएको छ ।