INSEC Online

📅 २०८३ जेष्ठ २१

युवा समूहबिच झडप हुँदा दुई प्रहरीसहित तीन जना घाइते, १२ जना गिरफ्तार

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका युवा समूहबिच ०८२ फागुन १९ गते साँझ होलीको दिन झडप हुँदा स्थिति नियन्त्रण गर्ने क्रममा दुई जना प्रहरी सहित तीन जना घाइते भएका छन् ।

झडपमा संलग्न धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका रामदयाल राना, राकेश सुनार, नरसिंह राना र जितेन्द्र रानासहित १२ जनालाई प्रहरीले फागुन १९ गते गिरफ्तार गरेको छ ।

उक्त गाउँका दुई टोलका युवाबिच पुरानो रिसिविका कारण विवाद हुँदा  स्थिति नियन्त्रण गर्ने क्रममा असई डवल साउद, इन्स्पेक्टर बलराम पाण्डे र एक जना स्थानीय लोकेश खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।

फागुन १९ गते होली खेल्ने क्रममा दुई समूहबिच बिबाद हुँदा झडपको स्थितिमा पुगेपछि प्रहरीले स्थिति नियन्त्रण गर्न खोज्दा स्थानीय युवाहरुले प्रहरीमाथि आक्रमण गरेको, प्रहरी भ्यान बीएसी ३४८० नम्बरको भ्यानमा तोडफोड गरिएको र झडप नियन्त्रणमा संलग्न प्रहरीमाथि पनि आक्रमण गरेपछि स्थानीय १२ जना युवाहरुलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान भइरहको डिएसपी तिमिल्सिनाले बताउनु भयो ।

झडपका क्रममा सामान्य चोटपटक लागेका असई साउदको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको र  इन्स्पेक्टर पाण्डे र एक जना स्थानीय खत्रीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको समेत इन्स्पेक्टर तिमिल्सिनाले बताउनु भयो ।

निर्वाचन क्षेत्र नम्कर ५ अन्तर्गत जनता राष्ट्रिय माध्यामिक विद्यालय, राजपुरको मतदान केन्द्र नजिकै यूवाहरुबिच झडप भएकाले निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मैनामोती चौधरी

अन्य

भिडियो