रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा रेबिज विरुद्धको भ्याकसिन अभाव भएको छ । लहान नगरपालिका–३ स्थित अस्पतालमा ०८२ फागुन १ गते सूचना टाँस गरी रेबिज विरुद्धको भ्याकसिन मौजदात नभएकोले सेवा बन्द गरिएको र भ्याकसिन उपलब्ध हुने बितिकै सेवा सुचारु गर्ने प्रादेशिक अस्पतालका अध्यक्ष रामनारायण महतोले बताउनु भयो । स्वास्थ्य सेवा विभागबाट सो औषधि नआएको कारण अस्पतालले सेवा दिन नसकेको भन्दै सेवाग्राहीले बाहिरबाट औषधी किनेर ल्याएको खण्डमा हामीले भ्याकसिन लगाइदिने गरेको महतोको भनाइ छ ।
लहान नगरपालिका–८ का विनोद यादवले आफन्तलाई भ्याकसिन लगाउन आए पनि अस्पतालले सूचना टाँस गरी औषधि नभएको जानकारी गराएको बताउनु भयो । यो भ्याकसिन समयमा नलगाए समस्या हुने र अस्पतालमा नि:शुल्क पाए पनि बाहिरबाट महगोमा किनेर सेवा लिनु परेको बताउनु भयो । अस्पतालबाट १ सय रुपैयाँ उपलब्ध हुने औषधि बाहिर किन्दा छ सय पर्ने गरेको सुखिपुर नगरपालिका –१ की शिलादेवि यादवले बताउनु भयो । त्यसै छोरालाई रेबिज विरुद्धको भ्याकसिन लगाउन आउनु भएको धनगढी नगरपालिका –४ की सुरेखा सिंहले महँगो औषधि किन्नु पर्दा आर्थिक मारमा परिरहेको दुखेसो पोख्नु भयो ।