जिल्ला पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव– इन्जिनियर ३२ वर्षीय प्रमोद कुमार यादवको ०८२ फागुन ३ गते राति गोली प्रहार गरि हत्या गरेको आरोपमा रामनगर गाउँपालिकामा कार्यरत प्राविधिक ३४ वर्षीय गणेश कुमार महतो सहित उनको सालो २२ वर्षीय चन्द्र किशोर सिंह कुशवाहा र २२ वर्षीय विजय कुमार महतोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले गिरफ्तार गरेको छ ।
एसपी योगेन्द्र कुमार खड़काका अनुसार महोतरी जिल्ला रामगोपालपुर नगरपालिका–५ का गणेश कुमार महतोलाई फागुन १२ गते,सोहि ठाँउका विजयलाई १४ गते र सर्लाहि बरहथवा नगरपालिका–३ का चन्द्र किशोरलाई १३ गते गिरफ्तार गरीएको हो ।
लोक सेवा अन्तरगत फागुन ४ गतेको प्रकाशित नतिजा अनुसार मृतक यादव पाँचौ तहको सव– इन्जिनियर पदमा सिफारिस भएका थिए । मृतक यादव सँगैको लोकसेवाका वैकल्पिक उम्मेदवार रहेको र सरकारी जागिरका लागि मुख्य दाबेरदार हुने लोभमा गणेश कुमार महतोले हत्याको योजना बनाएको जिल्ला एसपी खड़काले जानकारी दिए । हत्यामा प्रयोग भएको एक थान पेस्तोल, पड्किएको एक थान गोलीको खोका, बी.आर. ०१ एफ जेड १०८२ नम्बरको मोटरसाइकल र तीन थान मोवाइल फोन बरामद गरेको प्रहरीले बताएको छ ।