नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी तुलसीपुर उमनपा–५ का ३८ वर्षीय शेरबहादुर परियार र बहुमत निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष मुसीकोट नपा–७ रुकुमपश्चिमका २५ वर्षीय नरेन्द्र बिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
परियारलाई तुलसीपुर उमनपा–१८ मानपुरबाट र बिकलाई घोराही उमनपा–१५ बाट फागुन १२ गते गिरफ्तार गरेको नेकपा बहुमत पार्टीले जनाएको छ । नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सचिव अविरल र अनेरास्वयिु (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहले फागुन १२ गते विज्ञप्ती जारी गरी विना कारण पार्टी कामका सिलसिलामा हिडिरहेका बेला परियारलाई तुलसीपुर मानपुरबाट र बिकलाई घोराहीबाट गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘शान्तिपूर्ण राजनीति गर्ने नैसर्गिक अधिकारलाई कुण्ठित गर्दै गैरन्यायिक गिरफ्तारीको भ्रत्सना गर्दछौ । साथै गिरफ्तारीमा पर्नुभएका दुवैजनाको तत्काल विनाशर्त रिहाइको माग गर्दछौं ।’ नेकपा (बहुमत) ले यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको घोषणा गरेर विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय दाङले भने बहुमतका नेता, कार्यकता गिरफ्तारीका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।