सडक सञ्जालले नजोडिएको जिल्लाको नौगाड गाउँपालिका–१ को नागु क्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएपछि सरकारले यो क्षेत्रमा खाद्यान्न पठाउन थालेको हो । सरकारले खाद्यान्न ढुवानी गरेको भए पनि स्थानीयले महंगोमा चामल खरिद गर्नु पर्ने अवस्था देखिएकोले मुल्य समायोजन गर्नु पर्ने स्थानीयहरुको माग छ ।
स्थानीयबासीको ०८२ माघ १ र १७ गते बसेको भेलाबाट खाद्यान्न, सडक, विद्यालय र झोलुङ्गे पुललगायतका माग राख्दै निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै माघ १८ गते जिल्ला समन्वय समिति प्रमुख महादेब बडू (कस्यप) नेतृत्वको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले नागु क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार हाल नागु क्षेत्रमा खाद्यान्न ढुवानी भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय, दार्चुलाका प्रमुख हर्कराज उपाध्यायले जानकारी दिनुभयो । यो क्षेत्रमा पहिलो चरणमा ३३ कठ्ठा चामल पठाइएको छ ।
उपाध्यायका अनुसार वडा नम्बर १ को लागि १ हजार क्वीन्टल खाद्यान्न ढुवानी सुरु गरिएको छ । सिके कन्स्टक्सनमार्फत यो क्षेत्रमा खाद्यान्न ढुवानी थालिएको उहाँले बताउनु भयो । नागु, पारिमेला र इयरकोट क्षेत्रमा वितरण हुने गरी कम्पनीले चामल पठाइरहेको छ । खाद्य संस्थानले प्रतिकिलो ६२ रुपियाँ दरमा मोटो चामल उपलब्ध गराइरहेको उहाँले बताउनु भयो । चामल प्रति कठ्ठा १ हजार ५ सय ५० रुपियाँ तोकिएको छ ।
वडा नम्बर १ का अध्यक्ष हरीलाल महताका अनुसार अहिले गाउँमा निरन्तर खाद्यान्न ढुवानीको काम भइरहेको छ । अहिले नौगाड गाउँपालिका–१ को सुण्डमुण्डसम्म जीप तथा ट्याक्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ । पारिमेलादेखि खच्चडले गाउँका पसलहरुमा खाद्यान्न पु¥याउने काम गरिरहेको महताले जानकारी दिनुभयो ।
यसअघि जिल्लाका अन्य खाद्य डिपोहरुमा चामल ढुवानी भए पनि नागूको लागि ढुवानी भएको थिएन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षमा चामल ढुवानीका लागि दुई पटक टेण्डर आह्वान गरेको थियो । तर, नागू डिपोको लागि न्यून ढुवानी भाडा निर्धारण गरिएकाले कुनै पनि ढुवानीकर्ताले प्रस्ताव पेश नगरेपछि समयमै खाद्यान्न पठाउन नसकिएको प्रमुख उपाध्यायले बताउनु भयो । कम्पनीले नागुका लागि प्रति क्वीन्टल २ हजार १ सय रुपियाँ ढुवानी भाडा तोकेर टेण्डर निकालेको थियो । कात्तिक महिनामा दोस्रो पटक टेण्डर आह्वान गर्दा पनि प्रस्ताव दर्ता नभएपछि ढुवानी रोकिएको थियो ।
सडक पहुँच नभएको कारण खच्चड र मानिसबाट खाद्यान्न ढुवानी गर्दा महङ्गो मूल्य पर्न गएपछि ठेकेदारले यो क्षेत्रको लागि ठेक्कामा सहभागि नभएको गाउँपालिका अध्यक्ष दलजीतसिह धामीले बताउनु भयो । अध्यक्ष धामीका अनुसार ठेकेदारले अघिल्लो वर्ष ढुवानीमा नोक्सान भएको भन्दै योपटक ठेक्का हाल्न अस्वीकार गरेका थिए । नागु क्षेत्र नौगाडकै सबैभन्दा टाँढाको दुर्गम बस्ती हो ।
सरकारी तवरबाट यो क्षेत्रमा अहिले खाद्यान ढुवानी गरिएको चामल बजारको तुलनामा महँगो भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । स्थानीय करनसिंह डडालका अनुसार बजारमा प्रतिकिलो ५८ रुपियाँमा चामल पाइने भए पनि खाद्य कम्पनीको चामल ६२ रुपियाँमा बिक्री भइरहेको छ । तर, अहिले चामल कमै बिक्री भए पनि व्यापारिक चामल ढुवानी नआएपछि खाद्य संस्थानको चामल बिक्री हुने उहाँको भनाइ छ ।
यहि साता प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली नागु पुग्दा खाद्य संस्थानको चामलको मूल्यमा हेरफेरको लागि स्थानीयले आग्रह गरेको डडालको भनाइ छ । यो क्षेत्र उस्तै विकट छ । झन सरकारले सहुलियत मूल्यमा चामल उपलब्ध गराउनु पर्नेमा व्यापारिक चामल भन्दा महङ्गो हुँदा समस्या पर्ने भन्दै मूल्य समायोजनको लागि स्थानीयहरुले ध्यानाकर्षण गराएका छन् ।