INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा एक सातादेखि एक्सरे सेवा ठप्प, सिटामोलसमेत अभाव

जिल्ला अस्पताल हुम्लामा एक सातादेखि एक्सरे सेवा प्रभावित भएको छ । एक्सरे मेसिनको क्यासेट बिग्रिएपछि सेवा पूर्ण रूपमा ठप्प भएको हो ।

दैनिक रूपमा एक्सरे सेवा लिन आउने सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएका छन् । जिल्लाका सात ओटै गाउँपालिकाबाट दुई–तीन दिनको यात्रा गरेर सदरमुकाम सिमकोट पुग्ने स्थानीयहरू अस्पतालमै सेवा नपाउँदा थप सास्ती भोग्नुपरेको छ । स्थानीय ऐटन रावलका अनुसार दैनिक १० देखि १५ जना सेवाग्राही एक्सरे सेवा नपाई फर्किने गरेका छन् । एक्सरे मात्र नभई प्रयोगशालामा पनि समस्या देखिएको छ । रगत परीक्षणका लागि आवश्यक केमिकल अभाव हुँदा मिर्गौला, कलेजो लगायतका रोगको जाँचसमेत प्रभावित बनेको छ ।

यस्तै, जिल्ला अस्पतालमा पेरासिटामोल औषधिको समेत अभाव भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख भीम बुढाका अनुसार सिमकोट बजारस्थित हेल्थ अंश मेडिकल सेन्टरबाट ५ सय ट्याब्लेट सापटी लिएर काम चलाइएको छ । ‘सापटी लिएकोमध्ये अहिले करिब २ सय ट्याब्लेट मात्र बाँकी छ,’उहाँले भन्नुभयो ।

एक्स–रे मेसिनको क्यासेट बिग्रिएपछि सेवा अवरुद्ध भएको र मर्मतका लागि ३ देखि ४ लाख रुपियाँसम्म खर्च लाग्ने भएकाले ढिलाइ भएको निमित्त प्रमुख बुढाले जानकारी दिनुभयो । उक्त मेसिन निक्स साइमन्स इन्स्टिच्युटमार्फत मर्मत गर्ने प्रक्रिया अघि बढेको र छिट्टै सेवा सुचारु हुने उनले बताउनु भयो ।औषधि आपूर्तिका लागि जिल्ला बाहिरबाट अर्डर गरिसकिएको पनि कार्यालयले जनाएको छ ।

नन्द सिंह

अन्य

भिडियो