जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीहरुको क्षयरोग र एचआईभी परीक्षण माघ ११ गते गरिएको हो ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाको आयोजनामा कारागारमा रहेका कैदीबन्दीहरूको क्षयरोग र एचआईभीको परीक्षण गरिएको अधिकृत तुलसीप्रसाद गुराँगाईले बताउनु भयो ।
अत्याधुनिक एआइ प्रविधियुक्त मेसिनबाट छातीको एक्स–रे गरी क्षयरोग परीक्षण गरिएको अधिकृत तुलसीप्रसाद गुराँगाईले बताउनु भयो ।
परीक्षणका क्रममा १० जना कैदीबन्दीमा क्षयरोगको सम्भावित लक्षण देखिएको छ ।
लक्षण देखिएका कैदीबन्दीको खकार सङ्कलन गरी थप परीक्षणका लागि प्रयोगशालामा पठाइने अधिकृत तुलसीप्रसाद गुराँगाईले बताउनु भयो ।
क्षयरोग प्रमाणित भएका कैदीबन्दीको निःशुल्क उपचार तयारी थालिएको छ ।
क्षयरोगको उच्च जोखिम मानिने कारागार, वृद्धाश्रम, पुनःस्थापना केन्द्र जस्ता भीडभाडयुक्त र बन्द वातावरण भएका स्थान भएकाले स्वास्थ्य परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ ।
लामो समयसम्म एकै ठाउँमा बस्नुपर्ने, पोषणको कमी, धूम्रपान, मदिरा सेवन तथा स्वास्थ्य सेवामा पहुँच सीमित हुने अवस्थाले क्षयरोग सङ्क्रमणको सम्भावना बढ्ने बताइएको छ ।
कारागारमा रहेका कैदीबन्दीहरूको एचआइभी परीक्षण समेत गरिएको छ । परीक्षणमा सहभागी सबै कैदीबन्दीको एचआइभी रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सरकारले सन २०३५ भित्र नेपालमा क्षयरोगीको सङ्ख्या प्रति १ लाखमा १० जना भन्दा कममा झार्ने लक्ष्य लिएको छ । हाल नेपालमा प्रति १ लाख जनसङ्ख्यामा २ सय २७ जना क्षयरोगी छन् ।