INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षतिग्रस्त विद्यालयको छाना मर्मत नहुँदा पठनपाठन प्रभावित

जिल्लाको हिमाली क्षेत्रमा पर्ने साइपाल गाउँपालिका–३ स्थित काँडा माध्यामिक विद्यालयको भवनको छाना हावाहुरी सहितको वर्षाले उडाएको भए पनि मर्मत हुँन नसक्दा पठनपाठन प्रभावित भएको छ ।

०८२ माघ ९ गते राति आएको भीषण हावाहुरी र पानीका कारण विद्यालयको छाना पूर्ण रूपमा क्षतिग्रस्त भएको र विद्यालय भवनको छाना उडाउदा करिब ६ लाख रुपियाँ बराबरको क्षति भएको विद्यालय प्रशासनले जनाएको छ ।

भवन क्षतिग्रस्त भएपछि कक्षाकोठाको अभाव भएका कारण विद्यार्थीलाई नियमित पठनपाठन गराउन कठिनाइ भइरहेको विद्यालयका प्रधानाध्यापक रमेश जेठाराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘छाना उडेपछि कक्षाकोठा प्रयोग गर्न नमिल्ने अवस्था छ । विद्यार्थी र शिक्षक दुवैलाई समस्या भएको छ ।’

विद्यालयका शिक्षक उज्वल बोहराले क्षतिको विवरण संकलन गरी प्रहरी कार्यालयमा बुझाइसकेको जानकारी दिनुभएको छ । विद्यालयको पुनर्निर्माणका लागि स्थानीय सरकारसँग सहयोगको माग गरिएको उहाँले बताउनु भयो ।

हावाहुरीका कारण विद्यालय भवन क्षतिग्रस्त भएको र हिमपातले गर्दा अत्याधिक चिसो बढेकोले पठनपाठनमा थप समस्या उत्पन्न भएको कक्षा ९ मा अध्ययनरत विद्यार्थी विकास गुरुङले बताउनुभयो ।

१२ कक्षासम्म सञ्चालनमा रहेको यस विद्यालयमा २ सय ७० जना छात्रछात्राहरु अध्ययनरत छन् ।

सत्यराज सिंह

अन्य

भिडियो