INSEC Online

📅 २०८३ जेष्ठ २१

गर्भवती युवतीको हत्या गरेको कसुरमा ३० वर्ष कैद सजायको फैसला

अन्नपुर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीलाई अपहरण शैलीमा गाडीमा लगेर कालीगण्डकी नदीमा फालेर हत्या गरेको कसुरमा बेनी नपा–९ काउलेगौँडाका सवारी चालक ३२ वर्षीय रवि खड्कालाई जिल्ला अदालतले माघ २३ गते ३० वर्ष कैद सजाय र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ ।

खड्काले ०७५ असार १४ गते गाडीसँगै सवितालाई नदीमा खसालेको पीडित पक्षको आरोप थियो । २०७४ माघमा भएको म्याग्दी महोत्सवदेखि दुई जना प्रेम सम्बन्धमा रहेकामा शारीरिक सम्बन्धसमेत भएर सविता गर्भवती भएपछि गाउँलेको भेलाले चार महिनाकी गर्भवती सबितालाई रविको जिम्मा लगाएको थियो ।

घटनालगत्तै बेपत्ता बनेका आरोपित र पीडित चढेको लु २ च २४५४ नम्बरको जिप कालीगण्डकी किनारमा सविताका आफन्तले भेटेपछि पीडित पक्षले असार २२ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आरोपितविरूद्ध उजुरी दिएको थियो । कालीगण्डकीमा खसालिएकी सविताको शव हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

न्यायाधीश राजकुमार कोइरालाको आदेशले मुलुकी अपराध संहिता अनुसार हत्या अन्तर्गत २० वर्ष, शरीर बन्धक अन्तर्गत आठ वर्ष र घटनाको प्रकृति अनुसार २ वर्ष कैद थप गरी ३० वर्ष कैद तथा १ लाख रुपियाँ जरिबाना तिराउने फैसला गरेको जिल्ला अदालत, म्याग्दीले जनाएको छ ।

अन्य

भिडियो