बीमा प्राधिकरणले रकम उपलब्ध नगराएपछि लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्प्ताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अनुसार अस्पतालले वर्षौदेखि बिमा बोर्डबाट प्राप्त गर्नुपर्ने रकम भुक्तानी नपाएपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।
अस्पतालले स्वास्थ्य बीमा बोर्ड बबरमहल काठमाडौँलाई पत्राचार गर्दै रकम भुक्तानी नभए स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने जानकारी गराएको छ । डा. ढकालका अनुसार अस्पतालबाट दाबी रकम मध्ये बिमा बोर्डबाट स्वीकृत भएको २४ करोड ७१ लाख रुपियाँ समेत प्राप्त नभएको र अस्पतालले दिने सेवाका विषयमा पनि गणना नभएकोले बताउदै औषधी तथा उपकरण खरिदमा समस्या सिर्जना भएको बताउनुभयो ।
दैनिक करिब १ हजार ५ सय सेवाग्राहीले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत सेवा लिने सो अस्पतालमा दाबी रकम भुक्तानी नहुँदा आर्थिक संकट पर्दै गएको र आन्तरिक स्रोतले धान्न नसक्ने भएपछि बीमा कार्यक्रम स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको डा. ढकालले बताउनुभयो ।
अस्पतालले बीमा कार्यक्रम अन्तरगत उपचार सेवा उपलब्ध गराए अनुसार विभिन्न वर्षहरुमा गरी कूल ७३ करोड ४२ लाख दाबी गरेकोमा बीमा बोर्डले ५० करोड ५४ रुपियाँमात्रै उपलब्ध गराउन स्वीकृत गरेको छ । जसमध्ये हालसम्म २५ करोड ८३ लाख रुपियाँ मात्रै रकम प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम विभागका प्रमुख दिपेन्द्र पौडेलका अनुसार बीमा कार्यक्रममा सेवाग्राहीको आकर्षण बढ्दै गएपनि समयमा रकम उपलब्ध नगराउँदा सेवा प्रभावित हुने अवस्थामा पुगेको बताउनुभयो ।
बीमा कार्यक्रमका लागि मात्रै अस्पतालमा ३९ जना कर्मचारीहरु कार्यरत रहेको विभागका प्रमुख पौडेलले जानकारी दिनुभयो । बीमा सेवालाई प्रभावकारी बनाउनका लागि फार्मेसी तथा फार्मेसी काउन्टरको संख्या वृद्धि, अटोमेटिक रिपोर्ट डिस्प्याच मेशिन जडान लगायतका कामहरु भएका छन्।
विभाग प्रमुख पौडेलका अनुसार अस्पतालले उपचार सेवा उपलब्ध गराए बापत दाबी गरेर पठाएको रकममा समेत बीमा बोर्डले आफु अनुकुल कटौती गरेर थोरै रकम मात्रै स्वीकृति गर्ने गरेको भन्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दागर्दै पनि बीमा बोर्डले स्वीकृत गरेको रकम समेत नपठाउँदा सेवा नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य बीमा सेवाका लागि प्रथम विन्दु (फस्र्ट कन्ट्याक पोइन्ट) घोषणा गरेपछि सेवाग्राहीको चाप थप वृद्धि भएको थियो ।
स्वास्थ्य विमा बोर्ड काठमाण्डौका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य विमा सेवामा ५ सय १० सेवा प्रदायक संस्थाहरु जोडिएको र स्वास्थ्य विमा वोर्डको कोषमा भएको रकम सकिएकोले तत्काल विमा बापतको रकम बुझाउन नसकिएको बताउनुभयो ।
स्वास्थ्य विमा बोर्डमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्व विहीन भएको थियो । माघ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.कृष्ण पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।
बीमा बोर्ड नेतृत्व विहीन हुँदा कामकाज सुचारु राख्न डा. पौडेललाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ । डा. पौडेल हाल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
डा. काफ्लेले सरकारी अस्पताललाई भुक्तानी रोकेर निजी अस्पताललाई मात्र रकम दिएको भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोध्ने तयारी गरेपछि पदबाट राजीनामा दिएका दिएपछि हाल सेवा प्रदायक अस्पतालहरूलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ ।
विमा बोर्डले आर्थिक वर्ष ०८१ चैत मसान्तसम्मको सबै रकम भुक्तानी गरिसकेको र ०८२ असोज मसान्तसम्म सैब सेवा प्रदायक संस्थाहरुलाई ४७ प्रतिशत रकम भुक्तानी गरिसकेको र १२ अर्ब रकम भुक्तानी गर्न बाँकी रहेको बताउदै बाँकी रकम भुक्तानी गर्नका लागि छलफल गरिरहेको बताउनुभयो ।
स्वास्थ्य विमा बोर्डको तथ्यांक अनुसार स्वास्थ्य विमा कार्यक्रम अन्तरगर्त १ करोड भन्दा बढी व्यक्तिहरु आबद्ध रहेका छन् । जसमध्ये ६८ लाख मानिसहरु सक्रिय रहेका छन् । स्वास्थ्य विमा कार्यक्रममा दैनिक १ करोड बराबरको रकम खर्च हुने सूचना अधिकारी मल्लले बताउनुभयो ।