INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन

निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ती गरेसँगै सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा ०८२ माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन गरेको छ ।

आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा ०८२ माघ २ गतेसम्म आफू खटिएको क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यहरु गर्ने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु नियुक्त गरेको थियो ।

स्वाच्छ, निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य सम्पन्न भएको र सुदूरपश्चिम प्रदेशका १६ ओटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतहरु पठाई निर्वाचन कार्यतालिका अनुसार बिभिन्न कार्यहरु सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रमेराज भट्टले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशका नौ ओटा जिल्ला मध्ये सबै भन्दा बढी कैलाली जिल्लामा पाँच ओटा निर्वाचन क्षेत्र रहेका छन् । तोकिएकै समयमा निर्वाचन कार्य शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत पठाउने र निर्वाचनका लागि आवश्यक सामाग्रीहरु संकलन तथा सम्बन्धित मतदान स्थल तथा केन्द्रमा पठाउने कार्यहरु भइरहेको समेत प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले बताउनु भयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६ जना निर्वाचित हुने व्यवस्था छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा १ हजार १ सय ८२ ओटा मतदान स्थल र २ हजार १ सय ६९ ओटा मतदान केन्द्र रहेकोमा साविकको मतदाता सङ्ख्या १६ लाख ८१ हजार ९ सय ८९ रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा इन्सेक प्रतिनिधिहरुले समेत अनुगमन गरी पठाउनुभएका सूचनाहरु यस प्रकार छन् ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला सदरमुकाम, मार्तडीमा ०८२ माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले कार्यालयको उद्घाटन गर्नुभएको हो ।  जिल्ला निर्वाचन कार्यालय, बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार जिल्लामा एक मात्र निर्वाचन क्षेत्र रहेकाले सदरमुकाम मार्तडीस्थित कृर्षि ज्ञान केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्य सञ्चालनमा ल्याइएको बताउनु भयो ।

कार्यालय उद्घाटनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्य निर्वाचन अधिकृत पोखरेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित बनाउन जिल्लास्थित राजनीतिक दल, कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।  विगतमा देखिएका मतदान केन्द्र कब्जा गर्ने प्रवृत्तिका विषयमा पत्रकारको प्रश्नमा उहाँले यस्ता गतिविधि हुन नदिन विशेष सतर्कता अपनाउँदै आवश्यक सबै उपायहरू अवलम्बन गरिने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाका अतिसंवेदनशील, संवेदनशील तथा सामान्य मतदान केन्द्रहरूको अवस्था आँकलन गरी सुरक्षा व्यवस्थापन गरिने बताउनु भयो । विगतका कारण जिल्लामा निर्वाचनको इज्जत गुमेकाले स्वच्छ, शान्तिपूर्ण र मर्यादित निर्वाचनको वातावरण बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी निरौलाले निर्वाचनको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई विशेष रूपमा परिचालन गरिने बताउनु भयो । पछिल्ला दुई महिनायता जिल्लामा कुनै पनि आपराधिक घटना नभएकाले शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा धाँधलीरहित वातावरणमा सम्पन्न हुने विश्वास रहेको पनि उहाँले बताउनु भयो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत संजीव पोखरेल, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला निर्वाचन कार्यालय, बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाही, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला सदरमुकाम चैनपुरस्थित जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बझाङ जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले कार्यालय उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन कार्यक्रम औपचारिक रूपमा सुरु भइसकेको बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृत बनेपालीले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षको सहयोग आवश्यक रहेको बताउन ुभयो । निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि तोकिएको कार्यतालिका अनुसार अघि बढाइने उहाँले बताउनु भयो ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार आगामी  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ  । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित जिल्ला अदालत, बैतडीमा कार्यालय स्थापना गरिएको हो ।

एक निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जिल्ला अदालत, बैतडीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले बताउनु भयो ।

कार्यालय स्थापना कार्यक्रममा विभिन्न कार्यालयलका प्रमुखहरू, निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आशन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरु तयारी अवस्थामा रहेको बताउन ुभयो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचन लक्षित गतिविधिहरू तीव्र रूपमा अगाडि बढेका छन् । मतदाता नामावली अद्यावधिक, निर्वाचन आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्थापन तथा राजनीतिक दलहरूसँग समन्वयजस्ता कामहरू सुरु भएको मुख्य निर्वाचन अधिकृत भट्टले बताउनु भयो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा १ सय २९ मतदानस्थल र २ सय १४ मतदान केन्द्र कायम भएका छन् ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । जिल्ला अदालत, दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

एक मात्रै निर्वाचन क्षेत्र रहेको यस जिल्लामा मुख्य निर्वाचन अधिकृत भुवन गिरीले कार्यालय उद्घाटन गर्दै जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग आवश्यक रहेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले निर्वाचन गराउन चार ओटै सुरक्षा निकाय परचालन गरिने बताउनु भयो । सुरक्षामा कुनै प्रकारको कमीकमजोरी हुन नदिने र अहिलेसम्म सुरक्षा निकायले जिल्लाका १४ ओटा मतदान केन्द्रको निरीक्षण गरिएको उहाँले बताउनु भयो ।

जिल्लामा कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् । जसमा ४५ हजार १ सय ९३ महिला र ४७ हजार ७ सय ५५ पुरूष मतदाता रहेका छन् । निर्वाचनको लागि १ सय १२ मतदानस्थल र १ सय ४३ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले जानकारी दिनु भयो ।  धामीका अनुसार १ सय १२ मतदान स्थलमध्ये १५ ओटा अतिसम्बेदनशील, ३२ ओटा सम्बेदनशील र ६५ ओटा सामान्य अवस्थाका छन् ।

मुख्य निर्वाचन अधिकृत गिरीका अनुसार माघ ६ गतेदेखि विभिन्न चरणमा निर्वाचनसम्बन्धी काम कारबाही अघि बढाइने छ । जिल्लामा माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता सुरु हुनेछ । सोही दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्तापछि माघ ६ गते नै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते उम्मेदवारीमाथि दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ भने माघ ८ गते दाबी–विरोधउपर जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ९ गते उम्मेदवारको नामावली संशोधन सहित प्रकाशन गरिने, माघ १० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको, सोही दिन अन्तिम नामावली प्रकाशन गरिने र माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको मुख्या निर्वाचन कार्यालय, दार्चुलाले जनाएको छ ।

इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीका अनुसार ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला अदालत, डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

०८२ फागुन  ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराका निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिनु भयो ।

जिल्ला अदालत, डडेल्धुराबाटै मुख्य निर्वाचन अधिकृतको कार्यालयले कामकाज अगाडि बढाउनेछ । जिल्ला न्यायाधीश अरुणकुमार कोइरालालाई मुख्य निर्वाचन अधिकृतको रूपमा तोकिएको छ । मुख्य निर्वाचन अधिकृत कोइरालाले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित, भयरहित र विश्वसनीय बनाउनका लागि प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो– ‘म एक्लैले गर्न सक्दैन, यो सबैको सहयोगमा मात्र सम्भव छ । कुनै पनि पक्षमा लागेर काम गर्दैन ।  कानुन, संविधान र निर्देशिकाले निर्दिष्ट गरे अनुसार गर्ने हो ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कोइराला, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला, अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ सय ४१  मतदान केन्द्र र १ सय ४ मतदान स्थल र  ९३ हजार ९ सय १ मतदाता रहेका छन् ।

इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला सदरमुकाम सिलगढिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेले कार्यालयको उद्घाटन गर्नुभएको हो । जिल्ला निर्वाचन कार्यालय, डोटीका निर्वाचन अधिकारी करुणाकर पन्तले जानकारी दिँदै डोटीमा एक मात्र निर्वाचन क्षेत्र रहेकाले सदरमुकाम सिलगढीस्थित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्य सञ्चालनमा ल्याइएको बताउनु भयो ।

कार्यालय स्थापनापछि  संक्षिप्त प्रतिक्रिया दिँदै मुख्य निर्वाचन अधिकृत पाण्डेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित बनाउन जिल्लास्थित राजनीतिक दल, कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जिल्लाका अतिसंवेदनशील, संवेदनशील तथा सामान्य मतदान केन्द्रहरूको अवस्था आँकलन गरी सुरक्षा व्यवस्थापन गरिने बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डे, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ला निर्वाचन कार्यालय, डोटीका निर्वाचन अधिकारी करुणाकर पन्त, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

१ सय १८ ओटा मतदान स्थल रहेको यस जिल्लाका १३ ओटा मतदान स्थललाई अतिसंवेदनशील ४४ ओटा संवेदनशील र ८१ ओटा सामान्य रुपमा मानिएको प्रदेश प्रहरी कार्यालयले उपलव्ध गराएको बिवरणमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश कार्यालय

अन्य

भिडियो