ताँजकोट गाउँपालिकामा निर्माण गरिने भनिएको १५ शैयाको आधारभूत अस्पताल विगत पाँच वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको केन्द्र छप्रेलामा निर्माण सुरु गरिएको उक्त अस्पताल समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् ।
ठेक्का प्रक्रिया मार्फत अस्पताल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अधुरो काममै छाडेर निर्माण कार्य रोकेपछि भवन अलपत्र अवस्थामा पुगेको हो । अस्पताल भवन हालसम्म पनि निर्माणाधीन अवस्थामै रहेको र कुनै प्रगति नदेखिएको ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।
अध्यक्ष जैसीका अनुसार २०७७ सालमा धुलिखेल निर्माण सेवासँग अस्पताल निर्माणका लागि सम्झौता गरिएको थियो । सम्झौता अनुसार सात करोड रुपियाँको लागतमा १५ शैयाको अस्पताल निर्माण गरी तोकिएको समयभित्रै सम्पन्न गर्नुपर्ने थियो । तर, सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा अस्पताल भवन अधुरै अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
निर्माण कम्पनीले आरसिसी भवनको डिपिसी गरेपछि झ्याल–ढोका जडानसम्मको काम गरेको भए पनि त्यसपछि थप निर्माण कार्य अघि नबढाएको गाउँपालिकाले जनाएको छ ।
झ्याल–ढोका जडान गरेको तीन वर्ष बितिसक्दा पनि बाँकी संरचनागत तथा भौतिक निर्माण कार्य अगाडि नबढ्दा अस्पताल अलपत्र अवस्थामा रहेको हो । अध्यक्ष जैसीले अस्पताल निर्माणका लागि बजेटको कुनै अभाव नरहेको बताउँदै निर्माण कम्पनीको लापरबाहीकै कारण काम अघि बढ्न नसकेको दाबी गर्नुभयो ।
गाउँपालिकाले पटक–पटक निर्माण कम्पनीलाई लिखित पत्राचार तथा ताकेता गर्दा पनि कम्पनीले कुनै चासो नदेखाएको भन्दै उहाँले गुनासो गर्नुभयो । सम्झौता अनुसार २०७९ सालभित्रै अस्पताल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको भए पनि निर्माण कम्पनीले हालसम्म काम पूरा गर्ने कुनै संकेत नदेखाएको गाउँपालिकाले आरोप लगाएको छ ।
यसले स्थानीय सरकारको योजना कार्यान्वयनमा समस्या सिर्जना हुनुका साथै नागरिकको स्वास्थ्य अधिकारमा समेत असर पुगेको स्थानीय झलक ढकालले बताउनु भयो ।
ठेकेदारको गैरजिम्मेवारीका कारण महत्वपूर्ण स्वास्थ्य पूर्वाधार अलपत्र परेपछि ताँजकोट गाउँपालिकावासीले छिटो समस्या समाधान गरी अस्पताल निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।