INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

कोशी प्रदेशका राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई  निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

कोशी प्रदेशका निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले ०८२ पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको बताउनु भयो ।

निर्वाचन अधिकृत बुढाथोकीले नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिन्ह र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई पाँच कोण भएको तारा चिन्ह प्रदान गरिएको बताउनु भयो  ।

दुई क्लष्टर दलित र महिलातर्फका उम्मेदवार मात्रै कायम भएका छन्  । अन्य तर्फका नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा सर्वसम्मत निर्वाचित हुनु भएको छ । थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले पुस २७ गते औपचारिक घोषणा गरेको छ । पुस २७ गते नै नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट दलितमा खेम सुन्दास र एमालेका सोम पोर्तेल कायम भएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै महिलातर्फ एमालेकी रोशनी मेचे र नेपाली कम्युनिष्ट पार्टीकी नमिता न्यौपानेको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन कार्यालयका अनुसार कोशी प्रदेशमा ०८२  माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि कोशी प्रदेशबाट तीन पदका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए  ।

मनोनयन दर्ताका ०८२ पुस २३ गते लागि तोकिएको समयमा तीन पदका लागि पाँच जनाले उम्मेदवारी परेको थियो  ।  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १ सय ३५ छ ।

निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुनेछन् ।

प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको १९ छ । कोशी प्रदेशका १ सय ३७ स्थानीय तहरूमध्ये नेपाली कांग्रेसका ११४ (उपनिर्वाचनमा मोरङको ग्रामथान अध्यक्ष गुमाएको), एमालेका ११०, नेपाली कम्युनिष्ट पार्टीका ३९ (तत्कालीन माओवादीका ३२ र नेकपा एसका सात),  जसपा नेपाल र राप्रपाका चार/चार, श्रम संस्कृति पार्टी एक र स्वतन्त्र दुई जना रहेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७ ( तत्कालीन माओवादी १३ र नेकपा एस चार), राप्रपाका ६ र जसपा एक सांसद छन् ।

कोशी प्रदेशमा स्थानीय र प्रदेशसहित कांग्रेसको मतभार ३ हजार ७ सय ३, एमालेको ४ हजार २ सय १०, नेकपाको १ हजार ६ सय ४२, राप्रपाको ३ सय ९४ र जसपा नेपालको ७६, जसपाको ५३, श्रम संस्कृति पार्टीको १९ र स्वतन्त्रको  ३८ मतभार रहेको छ ।

विनोद सुवेदी

अन्य

भिडियो