जुम्ला कारागारका कैदीवन्दीको स्वास्थ्य परिक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले ०८२ पुस २६ गते स्वास्थ्य परीक्षण गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय र जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले कैदीबन्दीको सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या पहिचान गरिएको थियो ।
कारागार जस्तो सीमित वातावरणमा लामो समय बस्नुपर्दा देखिन सक्ने तनाव, चिन्ता, डिप्रेसन, अनिद्रा लगायतका मानसिक स्वास्थ्य समस्याको मूल्यांकन गरी आवश्यक परामर्श प्रदान गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताउनु भयो।
उहाँका अनुसार, मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीलाई सकारात्मक सोच, आत्मबल वृद्धि तथा तनाव व्यवस्थापनका उपायका विषयमा परामर्श गरिएको छ। परीक्षणका क्रममा केही कैदीबन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ । जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ । कारागारका ७२ जना कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । उच्चरक्तचाप आठ जना, मानसिक स्वास्थ्य परिक्षण तथा परामर्श २५ जना र मधुमेह समस्या १२ जना कैदीबन्दीमा रहेको छ ।
कार्यालय प्रमुख शर्माका अनुसार, कारागार भित्र रहेका नागरिकहरू पनि राज्यका समान अधिकार प्राप्त नागरिक भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिन यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने जानकारी गराउनु भयो ।
यस किसिमका स्वास्थ्य परीक्षण कार्यक्रमले रोगको प्रारम्भिक पहिचान, उपचारमा सहजता र मानसिक सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।