INSEC Online

📅 २०८३ जेष्ठ २१

दिसाजन्य जीवाणु मिसिएको पानी खान बाध्य नागरिकहरु

त्रिपुरासुन्दरी नगरपालिका भित्रका आरभिटि ट्याङ्की र धाराबाट आपूर्ति हुने पानीमा दिसाजन्य जीवाणु भेटिएको छ ।

नगरपालिकाको पानी, सरसफाइ तथा स्वच्छता इकाई शाखाले ११ वडाका ३० ओटा खानेपानी योजनाबाट नमुना सङ्कलन गरी परीक्षण गर्दा त्रिपुरासुन्दरी नगरपालिका–३ का सु र जिउ, वडा नम्बर–२ को मद्दु, वडा नम्बर–८ को पहाडा तथा वडा नम्बर–१को त्रिपुराकोट बगर बजारको खानेपानी योजनामा दिसाजन्य जीवाणु (इ–कोली) देखिएको छ।

यसले मुहानदेखि घरधुरीसम्म पानी पुग्ने क्रममा हुने ट्याङ्की सरसफाइको अभाव, पाइपलाइन चुहावट, खुला धारा तथा उपभोक्ता तहको असावधानी प्रमुख जोखिमका रूपमा देखिएको छ। जसका कारण दिसाजन्य जीवाणु मिसिएको पानी खान स्थानीय नागरिकहरु बाध्य छन् ।

वास शाखा प्रमुख धनप्रसाद बुढाले अत्याधिक जाडोका कारण केही परीक्षण प्रतिवेदन अपेक्षा अनुसार स्पष्ट आउन नसके पनि उल्लेखित स्थानबाहेक अन्य सबै योजनाको पानी अधिकांश सूचकमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डभित्र रहेको पाइएको बताउनु भयो।

परीक्षणमा पानीको अम्लीय–क्षारीय अवस्था, मैलोपन, विद्युत् चालकता, रासायनिक अवस्था तथा दिसाजन्य जीवाणुको स्थिति परीक्षण गरिएको थियो। यसले झाडापखाला, टाइफाइड र जन्डिसजस्ता पानीजन्य रोगको सम्भावित जोखिम क्षेत्र पहिचान गर्न सहयोग पुगेको नगरपालिकाले जनाएको छ।

स्थानीयवासी हरिचन्द्र हमालका अनुसार कतिपय आरभिटि ट्याङ्की वर्षौँदेखि सफा नगरिएको, धाराहरू खुला अवस्थामा रहेको र पाइपलाइन भाँचिए पनि मर्मत नहुने अवस्थामा छन्। लापरबाहीले मुहानबाट सुरक्षित आएको पानी अन्तिम बिन्दुमा पुग्दा असुरक्षित बन्ने गरेको हमालले गुनासो पोखे।

नगरपालिकाले प्रदूषित भएका स्थानहरुमा सुधारात्मक पहल चाल्ने बताउनु भयो । नियमित क्लोरिनेसन, आरभिटि ट्याङ्की तथा धाराको सरसफार्इ, संरचना मर्मत, उपभोक्ता व्यवहार सुधार र निरन्तर अनुगमनलाई प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाइने नगरपालिकाले जनाएको छ ।

विष्णुप्रसाद देवकोटा

अन्य

भिडियो