राष्ट्रिय सडक सञ्जालसँग हुम्ला जोडिएको करिब सात महिना बित्यो । तर, यहाँका गर्भवती महिलाहरूले अझैँ बिचबाटोमै सुत्केरी हुनुपर्ने बाध्यता छ । हुम्ला जिल्ला भरका लागि सदरमुकाम सिमकोट एउटा सुगम क्षेत्रका रुपमा मानिन्छ । यहाँ न त समयमै सुत्केरी आमाहरूको उद्दार हुन्छ । न त भनेको समयमा एम्बुलेन्स नै पाइन्छन् ।
विगत जस्तै अहिले पनि यहाँका सुत्केरी महिलाहरूले भनेको बेला एम्बुलेन्स तथा अन्य सवारी साधन नपाएपछि विचबाटो मै सुत्केरी हुनुको विकल्प छैन । हुम्लाका हरेका गाउँपालिकामा रहेका स्वास्थ्य शाखा र जिल्ला अस्पतालको र स्वयम गाउँपालिकाको यस्ता क्रियाकलापमा उद्दारको पहिलो भूमिका निर्वाह गर्ने कर्तव्य हो । उद्दारको त कुरै छोडौँ यहाँका गाउँपालिकालाई नत एम्बुलेन्स नै छन् । नत उपचारका लागि औषधि नै पाइन्छ ? हरेक गाउँबाट सुत्केरी व्यथा लागेकी महिलाहरूलाई एक मात्रै जिल्ला अस्पतालमा लैजाने गर्छन् । तर, ती महिलाहरूलाई जिल्ला अस्पतालमा नपुगाउँदै बाटैमा सुत्केरी गराउनुपर्ने बाध्यता छ ।
हुम्लाको सदरमुकाम सिमकोटमा पुस २५ गते राति माइनस ८ डिग्रीको कठोर चिसोमा, राति ११ बजे खार्पुनाथ गाउँपालिका–४ स्थित छिप्रा घर भई सिमकोट गाउँपालिका–६ लादेबाडा माइती घरमा बस्दै आउनुभएकी २२ वर्षीया शुसिला परियार जिल्ला अस्पताल लैजाने क्रममा बजारको बिचबाटोमा सुत्केरी हुनु भयो ।
बाटोमै सुत्केरी भएकी परियारलाई सोही दिन वानहट वल्डवाइड नामक गैर सरकारी संस्थाको पहलमा उद्दार गरियो । सुत्केरी हुनुभएकी परियारलाई तत्कालै बजारको काली चोक पुर्याएर जिल्ला अस्पतालको एम्बुलेन्स मार्फत सुरक्षित अस्पतालसम्म पुर्याइएको स्थानीय ओवराज शाहीले बताउनु भयो ।
बाटोमै जन्मिँदा आमा–छोराको जीवन जोखिममा थियो, तर समयमै उद्धार गर्दा दुबै सुरक्षित भएको उहाँले बताउनु भयो । उक्त घटना एउटा प्रतिनिधिमूलक मात्रै हो । हुम्लामा समयमै उद्दार हुन नसक्दा यसअघि पनि केही सुत्केरी महिलाहरूले ज्यान गुमाउनु परेको थियो । त्यस्तै समयमै सम्बन्धित ठाउँमा नपुग्दै बाटोमा सुत्केरी हुने महिलाहरुको संख्यामा बृद्धि भएको छ ।