रुरु गाउँपालिका–४ रानीवासकी २० वर्षीया रक्षा सुनारको हत्या गरिएको भन्दै अर्घाखाँची पाणेनी गाउँपालिका–५ बस्ने ४० बर्षीय बुबा फर्सुराम सुनारले माघ २१ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दर्ता गरेका छन् ।
उजुरीमा रक्षाका ४९ बर्षीय ससुरा कृष्ण सुनार, ४६ वर्षीय सासू शुशिला सुनार र २५ वर्षीय पति बिक्रम सुनारको नाम उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक बस्नेतले बताए ।
रक्षाका बुवा फर्शुराम सुनार गोपीले आफुलाई छोरीले पटकपटक घर परिवारले गाली गर्ने गरेका कारण परिवारकै सदस्यले हत्या गरेको आरोप लगाए ।
रक्षाको शव माघ १८ गते ट्याङकीमा डुबेको अवस्थामा फेला परेको थियो । ‘ट्याङकीमा डुबेर ज्यान गएको कुरा गलत होे ।’–रक्षाका बाबुले भने–‘त्यति अग्लो र गोलो ट्याङकीमा उक्लिने ठाउँ नै छैन, कहाँबाट माथी पुग्ने ? पानी झिक्न उक्लेकै भएपनि पानी झिक्ने बाल्टी वा कुनै भाँडा त्यसभित्र डुब्नुपर्ने कुनै भाँडा छैन ।’
जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले घटनाको प्रकृतिले हत्या नदेखिए पनि पोष्टमार्टम रिपोर्टको आधारमा कानुनी प्रक्रिया अगाडि बढाउने बताए । शवको पोष्टमार्टम जिल्ला अस्पताल तम्घासमा माघ १९ गते गरिएको छ ।