राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट ०८२ पुस २३ गते चार जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
मनोनयन पत्र दर्ता गराउनेहरुमा नेपाली कांग्रेसबाट खम्बबहादुर खाती, नेकपा (एमाले)बाट लीलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीबाट टीकाराम जैशी र रोजी बस्नेत सुनार रहनुभएको छ ।
धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँहरुले मनोनयन दर्ता गराउनु भएको हो ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि अन्य समूहबाट एक पुरुष र महिलातर्फ एक पद रिक्त हुने भएपछि अन्य समूह पुरुषतर्फ नेपाली कांग्रेसका खम्महादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकारा जैशी र महिला तर्फ नेपाली कम्युनिष्ट पाटीका राजी बस्नेत सुनार र नेकपा (ऐमाले)का लीलाकुमारी भण्डारीले मनोनयन दर्ता गराउनुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताउनु भयो ।
राष्ट्रियसभा सदस्य पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रुपमा र नेपाली कम्युनिष्ट पार्टीले एकल रुपमा उम्मेदवारीको मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्ने, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने निर्वाचन कार्यतालिका रहेको समेत निर्वाचन कार्यालयका प्रमुख भट्टले बताउनु भयो ।
राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ भने सुदूरपश्चिम प्रदेशमा ५२ जना प्रदेश सभा सदस्यमध्ये ५१ जना र ८८ ओटा स्थानीय तहका १ सय ७६ जनामध्ये १ सय ७५ जना गरी २ सय २६ जना मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्य र स्थानीय तहका एक जना उपाध्यक्ष पनि निलम्बनमा रहेकाले उहाँहरुले मतदान गर्न नपाउने भएका छन् ।