बर्दिया अस्पतालमा ०८२ मंसिर २१ गतेदेखि एन्टी रेबिज भ्याक्सिनको अभाव हुँदा बिरामीले सास्ती खेप्नु परेको हो ।
रेबिज रोग कुकुर, बिरालो, चमेरो, स्याल, ब्वाँसो लगायत वन्यजन्तुको टोकाइबाट लाग्ने प्राण घातक रोग हो । यो रोग लागेमा यसको उपचार सम्भव छैन् । रेबिज रोगबाट बच्ने उपाय भनेको एन्टी रेबिज विरुद्धको भ्याक्सिन भएको अस्पतालका मेडिकल अधिकृत डाक्टर भरत भण्डारीले बताए । उनले भने, ” अस्पतालमा प्रायः जसो कुकुरले टोकेर एन्टी रेबिज भ्याक्सिन लगाउन आउने गरेको छन् । तर अहिले अस्पतालमा भ्याक्सिन सकिएको छ ।”
सरकारले पर्याप्त मात्रामा भ्याक्सिन उपलब्ध गराउन नसक्दा अस्पतालमा पटक पटक भ्याक्सिन अभाव हुने गरेको छ । अस्पतालमा आर्थिक वर्ष २०८२/०८३ को कात्तिकसम्म ५ सय २० भाइल, आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ६ सय भाइल, आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५ सय भाइल एन्टि रेबिज भ्याक्सिन लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले पठाएको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपाने बताए ।
आर्थिक वर्ष २०८२/०८३ को कात्तिकसम्म ३ सय ४० जना बिरामीलाई, आर्थिक वर्ष २०८१/०८२ मा १ हजार १९ जना बिरामीलाई, आर्थिक वर्ष २०८०/०८१ मा ९ सय ८६ जना बिरामीलाई एन्टी रेबिज भ्याक्सिन लगाइएको इमर्जेन्सी इन्चार्ज बलबहादुर महतराले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले भ्याक्सिन बर्दिया अस्पताल गुलरिया र राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा भ्याक्सिन अभाव भएको एक महिना हुँदा पनि आपूर्ति व्यवस्थापन केन्द्रले भ्याक्सिन पठाएको छैन ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त धारा ३५ को उपधारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनिएको छ ।तर सरकारले आवश्यकता अनुसारको स्रोत साधन उपलब्ध नगराउँदा बिरामी ज्यान जानुको साथै अनेक खालका समस्या समेत भोग्नु परेको छ ।