निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ती गरेसँगै सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरिएको छ ।
आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा ०८२ माघ २ गतेसम्म आफू खटिएको क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यहरु गर्ने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु नियुक्त गरेको हो ।
स्वाच्छ, निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नियुक्ती भएको प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रमेराज भट्टले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाका पाँच ओटा निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत, कैलालीका न्यायाधीश भुवनसिंह थापा नियुक्त हुनुभएको छ भने निर्वाचन अधिकृतहरुमा जिल्ला अदालत, कैलालीका न्यायाधिवक्ता देवराज शर्मा, सर्वोच्च अदालतका अनुसन्धान अधिकृत इन्द्रबहादुर श्रेष्ठ, सर्वोच्च अदालतका उपरजिष्ट्रार पुष्कलराज प्रसाई र सर्वोच्च अदालतका इजलास अधिकृत हरिप्रसाद आचार्य नियुक्त हुनुभएको छ ।
तीन ओटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारी नियुक्त हुनुभएको छ भने निर्वाचन अधिकृतका रुपमा सर्वोच्च अदालतका इजलास अधिकृत दामोदर घिमिरे र जिल्ला सरकारी वकिल कार्यालय, कञ्चनपुरका न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी नियुक्त हुनुभएको छ ।
यसैगरी दुई ओटा निर्वाचन क्षेत्र रहेको अछाम जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा अछाम जिल्ला अदातलका न्यायाधीश रोशनकुमार भट्टराई नियुक्त हुनुभएको छ भने निर्वाचन अधिकृतका लागि सर्वोच्च अदालतका इजलास अधिकृत भोलाराज रग्मी नियुक्त हुनुभएको छ ।
एक / एक ओटा निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिम प्रदेशका ६ ओटा जिल्ला बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुराका लागि क्रमश: बाजुरा जिल्ला अदातलका न्यायाधीश संजिव पोखरेल, बझाङ जिल्ला अदालतका न्यायाधीश सुवर्णराज बनेपाली, डोटी जिल्ला अदातलका न्यायाधीश पदमराज पाण्डे, दार्चुला जिल्ला अदातलका न्यायाधीश भुवन गिरी र बैतडी जिल्ला अदातलका न्यायाधीश तिर्थराज भट्ट मुख्य निर्वाचन अधिकृतका रुपमा नियुक्त हुनुभएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले बताउनु भयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६ जना निर्वाचित हुने व्यवस्था छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा १ हजार १ सय ८२ ओटा मतदान स्थल र २ हजार १ सय ६९ ओटा मतदान केन्द्र रहेकोमा साविकको मतदाता सङ्ख्या १६ लाख ८१ हजार ९ सय ८९ रहेको छ । मतदाता नामावली अद्यावधिक कार्यभइरहेकोले मतदाता सङ्ख्यामा थपघट हुने सक्ने जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् ।
इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ०८२ पुस १६ गते सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन आयोगले ०८२ माघ ११ गते तय गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापा र प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले संयुक्त रुपमा उद्धघाटन गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन् ।
स्वच्छ, निष्पक्ष र पादर्शी रुपमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन कार्यालय स्थापनासँगै राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्बन्धी सम्पुर्ण काम औपचारिक रुपमा अघि बढाइने पदेश निर्वाचन कार्यलय, धनगढीका प्रमुख प्रेमराज भट्टले बताउनु भयो ।
निर्वाचन कार्यतालिकाको कार्यान्वयन, राजनीतिक दलहरुबिच समन्वय, उम्मेदवार मनोनयन, मतदाता नामावली व्यवस्थापन, पुस १९ गते मतदाता नामावली प्रकाशन, पुस २३ गते राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता, उम्मेदवारको नामावाली प्रकाशनपछि दाविबिरोध र अन्तिम नामावली प्रकाशन गरिने प्रमुख भट्टले बताउनु भयो ।