१७ वर्षीया बालिकाको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले शान्तिनगर गाउँपालिका–२ का २१ वर्षीय सुमन आले मगरलाई गिरफ्तार गरेको छ ।
आरोपितले पत्नीलाई आपसी विवादको क्रममा पुस १२ गते कुटपिट गरी गम्भीर घाइते बनाएको र उपचारको क्रममा पुस १८ गते केयर सिटी हस्पिटल नेपालगञ्जमा मृत्यु भएको थियो । पत्नी मृत्यु भएपछि फरार आरोपितलाई प्रहरीले पुस २० गते तुलसीपुर उमनपा– ५ मा रहेको शिशिर गेष्ट हाउसबाट गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम पुस १९ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भयो । आरोपितविरुद्ध मृतककी आमाले पुस १९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले जिल्ला अदालतबाट सात दिनको म्याद थमाइ हिरासतमा राखेको डिएसपी शाहले जानकारी दिनुभयो ।