INSEC Online

📅 २०८३ जेष्ठ २१

आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भय रहित बनाउन प्रतिवद्ध छौंः आयुक्त भण्डारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई विश्वसनीय र जनविश्वासयोग्य बनाउन निर्वाचन आयोग प्रतिबद्ध रहेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले बताउनु भयो ।

उहाँले यस कार्यका लागि निर्वाचन आयोगले आवस्यक तयारीका साथ आचारसंहिता जारी गरिसकेको जानकारी गराउनु भयो । निर्वाचन प्रक्रिया शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु अनिवार्य रहेको बताउदै यस कार्यका लागि निर्वाचन पर्यवेक्षकहरुले पनि निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गरिदिन उहाँले अनुरोध गर्नु भयो । साथै मातदाता सचेतना लगायतका आवश्यक कार्यहरु गर्न र यसका लागि समन्वय र सहकार्यका लागि निर्वाचन आयोग तयार रहेको प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल नेतृत्वको टोलीले ०८२ पुस २१ गते आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागी अनुरोध गर्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त सुरेन्द्र प्रसाद भण्डारीलाई ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षपत्र हस्तारन्ण गर्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले प्रतातन्त्रको पुर्नस्थापनादेखि पछि भएका निर्वाचनदेखि नै इन्सेक लगायत अधिकारकर्मी र नागरिक समाजले निर्वाचनहरूको पर्यवेक्षण गर्दै आएको स्मरण गराउनु भयो । उहाँले निर्वाचनलाई ऐतिहासिक र फलदायी बनाउन नागरिक तहबाट जनसचेतना, सार्वजनिक सम्परीक्षण र प्रभावकारी पर्यवेक्षण गर्ने अभिप्रायले विगतमा पनि आमनागरिक समाजको सहकार्यमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सञ्चालन गरिएको जानकारी गराउनु भयो । यो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न स्वयम्सेवीरुपमा नागरिक सङ्गठन र अगुवाहरू अहोरात्र खटिएका छन् । विगतको अनुभवका आधारमा ०८२ फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको पुनर्गठन गरिएको साथै अभियानको सदस्यका रूपमा इन्सेक र मानव अधिकार सङ्गठनले मतदाता शिक्षा र निर्वाचन पर्यवेक्षण कार्य गर्ने बताउनु भयो ।

त्यसैगरी मानव अधिकार संगठनका अध्यक्ष इन्द्र अर्यालले नेपालको संविधानद्वारा प्रत्याभूत सार्वभौमसत्ताको प्रयोगका रूपमा सम्पन्न हुने आम निर्वाचन लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएकोले आगामी फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी, समावेशी तथा विश्वसनीय बनाउन निर्वाचन आयोगको संवैधानिक जिम्मेवारी अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले नागरिक समाजले विगतका निर्वाचनहरूमा गरेको अनुगमन, अध्ययन तथा अनुभवका आधारमा यस निर्वाचनमा पनि केही चुनौतीहरू देखापर्न सक्ने सम्भावनाप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो । साथै अध्यक्ष अर्यालले निर्वाचन प्रक्रियामा राजनीतिक प्रभाव, राज्यस्रोतको दुरुपयोग, मतदातामाथि दबाब, आर्थिक प्रलोभन, सामाजिक सञ्जालमार्फत गलत सूचना तथा भ्रम फैलाउने कार्य, महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक समुदाय र भौगोलिक रूपमा पछाडि पारिएका मतदाताको प्रभावकारी सहभागितामा देखिनेजस्ता अवरोधहरू हटाउन निर्वाचन आयोगले विषेश ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
निर्वाचन आयोगका सदस्य डा.जानकी कुमारी तुलाधरले निर्वाचनका क्रममा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक समुदाय र भौगोलिक रूपमा पछाडि पारिएका मतदाताको प्रभावकारी सहभागिता र सहजताका लागि आवश्यक तयारी गरिएको जानकारी गराउनु भयो ।

त्यसैगरी निर्वाचन आयोगका सदस्य सगुन शमशेर जबराले निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्ने दायित्व हामी सबैको हो भन्दै पर्यवेक्षण गर्ने संघसंस्थालाई निर्वाचनको निष्पक्षरुपमा पर्यवेक्षण गर्न र आयोगलाई समय समयमा सुझावहरु दिन अनुरोध गर्नुभयो ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतम, इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेल, नेपाल मानव अधिकार संगठनका कोषाध्यक्ष टिका डांगी र कार्यसमिति सदस्य मधुसुधन उपाध्यायको समेतको सहभागिता रहेको थियो ।

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो