सरकारले मृगौला रोगको बिरामीको उपचार निःशुल्क गर्ने भनेता पनि पर्याप्त मात्रामा जनशक्ति र डाइलासिस मेसिन नहुँदा मृगौला रोगका बिरामीले अझै सास्ती भोग्नु परेको छ ।
सरकारले मृगौला रोगको उपचार निःशुल्क हुन्छ भनेता पनि उपचार गर्नका लागि पर्याप्त स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्न सकेको छैन । सरकारको दोहोरो कार्यशैलीले गर्दा डाइलासिस रोगका बिरामीले सास्ती भोग्नु परेको छ ।
स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ९७ जनाले, आर्थिक वर्ष २०८०/०८१ मा एक सय जनाले, आर्थिक वर्ष २०७९/०८० मा ८४ जनाले, र आर्थिक वर्ष २०७८/०७९ मा ८६ जनाले विभिन्न पालिकाहरुबाट निःशुल्क उपचारको लागि सिफारिस लिएको पब्लिक हेल्थ नर्सिङ अधिकृत एवं सूचना अधिकारी पदमा कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दिया अस्पताल गुलरियामा २०८१ बैशाख १९ गतेबाट ५ वटा डाइलासिसको मेसिन सञ्चालनमा आएपछि उपचारका लागि मृगौला रोगका बिरामी बाहिर जानुपर्ने बाध्यताको केही हदसम्म अन्त्य भएको छ ।
अस्पतालले चालु आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा ९७८ पटक, आर्थिक वर्ष २०८१/०८२ मा २ हजार १३ पटक र आर्थिक वर्ष २०८०/०८१ मा २३१ पटक डाइलासिस सेवा उपलब्ध गराएको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपाने जानकारी दिनुभयो ।
मृगौला रोगमा बिरामीलाई विगतका दिनमा उपचारको लागि नेपालगञ्ज कोहलपुर जानुपर्ने बाध्यता थियो, त्यो केही हदसम्म अन्त्य भएको छ । अझै पनि बर्दियाका धेरै बिरामी उपचारका लागि बाहिरजान बाध्य छन् ।
डाइलासिस इन्चार्ज मेडिकल अधिकृत डाक्टर चन्द्रप्रकाश तिमिल्सिनाले अस्पतालले दैनिक ५ वटा मेसिन सञ्चालन गरेर १० जनालाई डाइलासिस सेवा दिइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ अस्पतालले अहिले निःशुल्क सेवा लिदैगरेका बिरामी ३४ जना रहेको छन् । कतिपय बिरामीलाई हप्तामा दुई पटकसम्म डाइलासिस गर्नु परेको छ ।’
अस्पतालको जनशक्ति अभावले गर्दा अस्पतालले दैनिक दुई सिफ्टमा मात्र डाइलासिस सेवा सञ्चालन ल्याउन सकेको छ । र त्यस बाहेकका बिरामीहरू निःशुल्क सेवा पालो पर्खिनु पर्ने बाध्यता रहेको छ । अस्पतालमा थप जनशक्ति व्यवस्थापन गर्न सकेमा दैनिक चार सिफ्ट डाइलासिस सेवा सञ्चालन गर्न सकिन्थ्यो ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त धारा ३५ को उपधारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनिएको छ । तर सरकारले आवश्यकता अनुसारको स्रोत साधन उपलब्ध नगराउँदा बिरामी ज्यान जानुको साथै अनेक खालका समस्या समेत भोग्नु परेको छ ।