INSEC Online

📅 २०८३ जेष्ठ २१

टाउको काटिएको अवस्थामा पुरुषको शव फेला

सागरनाथ वन विकास परियोजना सर्लाहीमा कार्यरत वन चौकीदार ४७ वर्षीय रामईश्वर महतोको शरीरबाट टाउको काटेर अलग गरी हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिनु भयो । ईश्वरपुर नगरपालिका–२ राईटरखोरका महतो २०८२ पुस १९ गते बिहान ५ बजे जंगलमा कसैले काठ काटिरहेको छ भन्ने सूचना पाएपछि साइकलमा घरबाट निस्किएका थिए ।

मृतक महतोका ज्वाइँ वीरबहादुरका अनुसार घरबाट निस्किएको लामो समयसम्म नफर्किएपछि आफन्तहरूले खोजतलास गर्ने क्रममा घाँट टोल नजिकै सागरनाथ वन विकास परियोजनाको १० नम्बर प्लटबाट करिब १ सय मिटर पूर्वतर्फ झाडीमा महतोको शव फेला परेको थियो । घटनाबारे दिउँसो ३ बजे जानकारी भएको इलाका प्रहरी कार्यालय भक्तिपु्रका इन्स्पेक्टर परिक्षण यादवले बताउनु भयो ।

घटना भएको आसपासको क्षेत्रमा प्रहरीले विशेष खोजतलास गरेको भएपनि टाउको भाग नभेटिएको प्रहरीले बताएको छ । घटनामा संलग्न हुनसक्ने आशंकामा जङ्गलभित्रबाट स्थानीय एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने तालिमप्राप्त कुकुरको सहयोगमा हत्याको मार्ग, प्रयोग भएको सम्भावित हतियार र संलग्न व्यक्तिबारे अनुसन्धान अघि बढाइएको एसपी योगेन्द्र कुमार खड़काले जानकारी दिनु भयो । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको छ ।

बुधन साह

अन्य

भिडियो