INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीयद्वारा प्रहरी चौकी आक्रमण

डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले ०८२ पुस १८ गते बेलुका आक्रमण गरेका छन् ।

१८ गते दिउँसो लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकायालाई चेकजाँच गर्ने क्रममा उनी भागेपछि स्थानीयले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी रुकबहादुर खड्काले जानकारी दिनुभयो ।

‘दिउँसो आरोपितले एक ट्रकका चालकलाई लागुऔषध बुझाउँदैछन् भन्ने सूचना आएपछि हाम्रो प्रहरी चेकजाँचका लागि खटियो,’ उहाँले भन्नुभयो, ‘चेकजाँच आउनुभन्दा अगाडि नै उनी भागिसकेका थिए । त्यसपछि स्थानीयहरु आएर चौकीमा आक्रमण गरे ।’ डिएसपी खड्काका अनुसार चौकीमा रहेका आठ जना प्रहरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।

आरोपित रोकाया भागेपछि घरको सम्पर्कमा नआएको भन्दै स्थानीयले उनी ठूली भेरीमा खसेर बेपत्ता भएको दाबी गरेका छन् । उनीहरूले रोकाया बेपत्ता हुनुमा प्रहरीको लापरबाहीका कारण भएको आरोप लगाएका छन् ।

तीन सदस्यीय छानबिन समिति

घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पुस १९ गते एसपी रामप्रसाद घर्तीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

छानबिन समितिमा प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर खिम बहादुर खड्का र असई प्रेमप्रसाद शर्मा सदस्य रहेका छन् ।

छानबिन टोली घटनास्थलतर्फ हिँडिसकेको प्रदेश प्रहरी कार्यालयका एसएसपी केदार खनालले जानकारी दिनुभयो । बेपत्ता भनिएका जुन रोकायको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली घटनास्थलमा परिचालन भई खोजी कार्य जारी राखिएको उहाँले बताउनु भयो ।

यातायात बन्दको घोषणा

घटनापछि उक्त ठाउँका स्थानीयहरुले पुस २० गते अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । जिल्ला भित्रिने–बाहिरिने सवारी साधन पूर्ण रूपमा रोकिएका छन्, जसका कारण यात्रुहरू अलपत्र परेका छन् । घटनास्थल नै जिल्लाको प्रमुख यातायात नाका भएकाले ठूला–साना सबै सवारी साधन रोकिएका छन् भने बिरामी तथा अत्यावश्यक कामका लागि पासको आधारमा मात्र आवत–जावत खुला गरिएको छ । छानबिन नटुंगिँदासम्म यातायात बन्द गर्ने निर्णय गरिएको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले छानबिन समिति गठन भइसकेको र स्थानीय सरकारको समन्वयमा वार्ताका लागि प्रशासन तयार रहेको बताउँदै यातायात बन्द तथा तोडफोड नगरी संयमित हुन स्थानीयलाई आग्रह गरेका छन् ।

 

विष्णुप्रसाद देवकोटा

अन्य

भिडियो