अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल नेतृत्वको टोलीले ०८२ पुस १८ गते आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा शान्ति सुरक्षा तथा कानून–व्यवस्था सुनिश्चित गर्नका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई ध्यानाकर्षण गराएको छ ।
देशका विभिन्न स्थानबाट हिंसा, धम्की, डर–त्रास, मतदातामाथि दबाब, राजनीतिक प्रतिशोध, घृणात्मक अभिव्यक्ति तथा कानुन–व्यवस्था कमजोर हुने सम्भावनाबारे चिन्ता व्यक्त भइरहेको परिप्रेक्षलाई मध्यनजर गर्दै ध्यानाकर्षण पत्र गृहमन्त्रीलाई बुझाइएको इन्सेकका अध्यक्ष गौतमले बताउनु भयो ।
उहाँले नागरिकका मौलिक अधिकार, विशेषतः मताधिकार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सहभागितामाथि असर नपर्ने गरी निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिनु भयो ।

त्यस्तै नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार निर्वाचन भएकाले निर्वाचन प्रक्रिया शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु अनिवार्य रहेको बताउनु भयो ।
ध्यानाकर्षण पत्रमार्फत निर्वाचन अवधिभर देशभर प्रभावकारी, निष्पक्ष र मानव अधिकारमैत्री सुरक्षा व्यवस्था सुनिश्चित गर्न, निर्वाचनसँग सम्बन्धित हिंसा, धम्की, जबर्जस्ती तथा डर–त्रास सिर्जना गर्ने कार्यमा संलग्न जो–कोहीमाथि तुरुन्त कानुनअनुसार कारबाही गर्न, सुरक्षा निकायलाई राजनीतिक प्रभावबाट मुक्त राखी तटस्थ र पेशागत रूपमा परिचालन गर्न, जेनजी आन्दोलनको क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीबन्दी मुख्य सुरक्षा चुनौतीको विषयमा सजग रहन र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन आवश्यक रहेका विषयवस्तुहरुमा गृहमन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।

साथै, महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक समुदाय तथा पत्रकारहरूको विशेष सुरक्षाको सुनिश्चित गर्न, मानव अधिकार र निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा निकायलाई स्पष्ट निर्देशन तथा आवश्यक तालिम प्रदान गर्न अनुरोध गरिएको छ ।
त्यस्तै स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि नागरिक समाज, मानव अधिकार संस्था तथा निर्वाचन अनुगमनकर्तासँग सहकार्य र समन्वय बढाउन र मतदान, मतगणना तथा परिणाम प्रकाशन प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउँदै नागरिक समाज, सञ्चार माध्यम र पर्यवेक्षकहरूको स्वतन्त्र अवलोकनको सुरक्षा सुनिश्चितता गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
ध्यानाकर्षण पत्र मार्फत इन्सेक र नेपाल मानव अधिकार सङ्गठनले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र मानव अधिकारको सम्मानसहित निर्वाचन सम्पन्न गर्न सरकारको सकारात्मक पहलको अपेक्षा गर्दै गृहमन्त्रीबाट समयमै आवश्यक कदम चालिने विश्वास समेत व्यक्त गरिएको छ ।
ध्यानाकर्षण गराउने टोलीमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतम, इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेल, नेपाल मानव अधिकार संगठनका कोषाध्यक्ष टिका डांगी र कार्यसमिति सदस्य मधुसुधन उपाध्यायको समेतको सहभागिता रहेको थियो ।