जिल्ला अस्पताल, दार्चुलाको निर्माणाधीन ५० सैय्याको अस्पताल भवन चार वर्ष बितिसक्दा पनि अधुरै रहेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दा समेत ४५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, डोटीमार्फत हाल बैतडीबाट निर्माण भइरहेको उक्त अस्पताल भवन ०७८ असार २४ गते श्याम सुन्दर गोर्खा वाइआर जेभीसँग २६ करोड ४८ लाख २७ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । ०८१ असार २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म सो लक्ष्य पूरा हुन नसकेपछि त्यस क्षेत्रका सेवाग्राहीहरुले समस्या भोग्नुपरेको छ ।
निर्माण कम्पनीका सब–इन्जिनियर गोकर्ण जोशीका अनुसार हाल अस्पताल भवनको तेस्रो तला ढलानको काम भइरहेको छ । “काम निरन्तर भइरहेजस्तो देखिए पनि उल्लेख्य भौतिक प्रगति देखिएको छैन,” उहाँले भन्नुभयो । गत वर्ष ०८२ मङ्सिर मसान्तसम्म म्याद थप गरिएको भए पनि उक्त म्यादसमेत सकिएको उहाँको भनाइ छ ।
भवनको तेस्रो तला ढलान गरिएको छ । भवन निर्माणको लागि म्याद थपको प्रकृया चलिरहेको निर्माण कम्पनीको भनाइ छ ।
अस्पताल भवन निर्माणमा भएको ढिलाइका कारण सेवा प्रवाहमा समेत समस्या देखिएको अस्पताल प्रशासने जनाएको छ । जिल्ला अस्पताल, दार्चुलाका डाक्टर रविन्द्र भट्टराईका अनुसार भवन नहुँदा सेवा अझै व्यवस्थित रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ । “यदि भवन समयमै निर्माण भएको भए सेवा सञ्चालन धेरै सहज हुने थियो,” उहाँले भन्नुभयो, “अहिले अस्थायी संरचनामै बिरामीको चेकजाँच गर्नुपरेको छ ।”
डाक्टर भट्टराईका अनुसार एकै ठाउँमा व्यवस्थित भवन नहुँदा रेखदेख गर्नसमेत समस्या भइरहेको छ । चिसो मौसममा पक्की भवन नहुँदा बिरामीको उपचार प्रभावित भइरहेको छ भने जटिल अप्रेशन तथा आवश्यक चेकजाँचमा समेत कठिनाइ हुने गरेको छ ।
इन्डोर सेवा सञ्चालनमै समस्या
दैनिक २ सय भन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको जिल्ला अस्पताल, दार्चुलामा भवन नहुँदा अन्तरङ्ग (इन्डोर) सेवा सञ्चालनमा समस्या देखिएको छ । अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार भवन अभावका कारण प्रसूति सेवा, आईसीयू, भिडियो एक्स–रे र अल्ट्रासाउन्ड जस्ता सेवा सञ्चालनमा कठिनाई छ ।
अहिलेको अस्पताल काम चलाउ भवनमा निर्माण भइरहेको हो । चाडै भवन निर्माण सकिएको भए जिल्ला अस्पतालको सेवा अझै प्रभावकारी हुने सूचना अधिकारी भट्टको भनाइ छ । साँघुरो कोठामा सञ्चालन भइरहेका अन्तरङ्ग सेवाका कारण बिरामीमा संक्रमणजन्य रोग फैलिने जोखिमसमेत बढेको अस्पताल प्रशासनको भनाइ छ ।
सरोकारवालाहरूले निर्माण कार्य शीघ्र सम्पन्न गरी सेवाको गुणस्तर सुधार गर्न माग गरेका छन् । अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति नागरिक समाजले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । नागरिक समाज, दार्चुलाका संयोजक महेश भट्टका अनुसार निर्माण व्यवसायी फिल्डमै नदेखिने र काम गरेको जस्तो मात्र देखाउने प्रवृत्ति हावी छ । अस्पताल जस्तो सम्बदेनशील ठाउँमा निर्माण कम्पनीले समेत लापारबाही गरेको प्रष्टै छ ।
“भवन जस्ताको तस्तै हुँदा जिल्लाबासीले उपचारमा समस्या भोग्नुपरेको छ,” उहाँले भन्नुभयो, “समयमै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गरी कालोसूचीमा राख्न दबाब दिनुपर्ने अवस्था आइसकेको छ ।” स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा निर्माण व्यवसायी र आयोजना कार्यालयले गम्भीर लापरबाही गरेको उहाँको आरोप छ ।
३९ वर्षदेखि निमित्तकै भरमा जिल्ला अस्पताल
जिल्ला अस्पताल, दार्चुला स्थापनाको ३९ वर्ष बितिसक्दा पनि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को दरबन्दी रिक्त छ । ०४३ सालमा स्थापना भएको अस्पताल अहिलेसम्म निमित्तकै भरमा सञ्चालन हुँदै आएको हो ।
जिल्ला अस्पताल, दार्चुलाका निमित्त कार्यालय प्रमुख डाक्टर रविन्द्र भट्टराईका अनुसार अस्पतालमा दरबन्दीको जनशक्ति अभाव अझै छ । २२ जना स्थायी दरबन्दी मध्ये हाल १३ जना मात्रै पदपूर्ति भएका छन् । मेडिकल सुपरिटेन्डेन्टदेखि रेडियोग्राफर, एचए, कार्यालय सहयोगीसम्मका पद रिक्त छन् ।
बिरामीको चाँपका कारण स्वीकृत १५ सैय्याको जिल्ला अस्पताललाई हाल ३५ सैय्यामा सञ्चालन गर्नुपरेको छ । भवन नहुँदा पनि जेनतेन काम चलाउ व्यवस्थापन गरिएको छ ।
अहिले जिल्ला अस्पताल छात्रवृत्ति, करार, प्रदेश करार तथा विभिन्न संस्थाको सहयोगमा अस्पताल सञ्चालन भइरहेको उहाँले बताउनु भयो । अहिलेको अवस्थामा हेर्दा एक जना डाक्टरले औसतमा २ सय १५ जना बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ ।
भारतसँग सीमा जोडिएको जिल्ला अस्पताल सुदृढिकरणको लागि सबै पक्षको सहयोग र समन्वय भयो भने अझै व्यवस्थित रुपमा सञ्चालन गर्न कुनै समस्या नहुने डाक्टर भट्टराईको भनाइ छ ।
रक्त सञ्चार केन्द्र नहुँदा दाताकै भर
जिल्ला अस्पताल, दार्चुलामा रक्त सञ्चार केन्द्र नहुँदा बिरामीहरू दाताको रगतको भरमा उपचार गराउन बाध्य छन् । जटिल अप्रेशन तथा गर्भवती महिलाको उपचारका क्रममा प्रायः रगत आवश्यक पर्ने भए पनि तत्काल उपलब्ध नहुँदा समस्या हुने गरेको छ ।
स्त्रीरोग विशेषज्ञ आएपछि अप्रेशनको सङ्ख्या बढे पनि रक्त सञ्चार केन्द्र नहुँदा झन चुनौती थपिएको डाक्टर भट्टराई बताउनुहुन्छ । यसै समस्यालाई मध्यनजर गर्दै युवाहरूले ‘रक्तदान अभियान जिल्ला अस्पताल’ नामक समूह गठन गरेका छन् ।
ल्याबमा कार्यरत ज्योती गैरेका अनुसार हाल उक्त समूहमा २ सय ३२ जना सदस्य जोडिएका छन् । आवश्यक ब्लड ग्रुप पहिचान गरी समूहमार्फत रगत जुटाउने काम भइरहेको उहाँले बताउनु भयो ।
यसअघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको मुख्य योगदान रहेकोमा हाल सर्वसाधारणको सहभागिता समेत बढ्दै गएको रक्तदान अभियन्ता कृष्णसिंह धामीले जानकारी दिनुभयो ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले रक्त सञ्चार सेवा उपसमिति गठन गरेको छ । सभापति गोपालसिंह महरको संयोजकत्वमा गठित समितिले माघ महिनाभित्र जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्ने तयारी थालेको बताउनु भयो ।
रक्त सञ्चार केन्द्रका लागि भवन निर्माण तथा आवश्यक उपकरण सहयोगका लागि जिल्ला अस्पताल, अस्पताल व्यवस्थापन समिति, स्थानीय तह र सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय भइरहेको समितिले जनाएको छ ।