INSEC Online

📅 २०८३ जेष्ठ २१

दार्चुलाका २२ मतदान केन्द्र अति सम्वेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा १ सय १२ मतदान स्थल र १ सय ४३ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा समिति, दार्चुलाका अनुसार तोकिएका मध्ये २२ ओटा मतदान केन्द्र अति सम्वेदनशील मानिएको छ ।

जिल्लाभरी रहेका १ सय ४३ मतदान केन्द्र मध्ये २२ अति सम्वेदनशील, ४१ सम्वेदनशील र ७८ सामान्य सूचीमा राखेर विभाजन गरिएको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । यसपटक भौगोलिक दुर्गमता, विगतका निर्वाचन अनुभव, सुरक्षा निकायको पहुँच लगायतलाई आधार मानेर वर्गीकरण गरिएको उहाँको भनाइ छ ।

यो वर्ष जिल्लामा ०७९ सालको निर्वाचन भन्दा २ हजार १ सय ६६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार ०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ९० हजार ७ सय ८२ मतदाता सङ्ख्या रहेकोमा हाल बढेर ९२ हजार ९ सय ४८ पुगेको छ ।

धामीका अनुसार हाल कायम रहेका मतदाता मध्ये ४७ हजार ७ सय ५५ पुरुष र ४५ हजार १ सय ९३ महिला मतदाता रहेका छन् । नौ ओटा स्थानीय तह रहेको यस जिल्लामा शैल्यशिखर नगरपालिकामा १५ हजार ५ सय १६ मतदाता रहेका छन् भने महाकाली नगरपालिकामा १४ हजार १ सय ४३ मतदाता कायम भएका छन् ।

यसैगरी मालिकार्जुन गाउँपालिकामा ११ हजार ८ सय ७८, लेकम गाउँपालिकामा १० हजार ३ सय ११ र नौगाड गाउँपालिकामा १० हजार ८८ मतदाता रहेका छन् । मार्मा गाउँपालिकामा ९ हजार ६ सय १३, दुहुँ गाउँपालिकामा ८ हजार ४ सय ४१, व्यास गाउँपालिकामा ८ हजार १ सय ६२ र अपी हिमाल गाउँपालिकामा ४ हजार ७ सय ९६ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नरेन्द्रसिह कार्की

अन्य

भिडियो