INSEC Online

📅 २०८३ जेष्ठ २१

दोहोरो गोली हानहानमा साहको मृत्यु : सशस्त्र प्रहरी

कोशी गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरी वेस क्याम्प विओपी, लौकही नजिकै गोली प्रहारबाट पुस १७ गते मारिएका ४५ वर्षीय विजय साहको दोहोरो गोली हानहानमा मृतयु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

चिनी तस्करी गरेको आरोपमा सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्ने क्रममा ०८२ पुस १७ गते बिहान तस्करी गर्नेहरूले गोली चलाएपछि सशस्त्र प्रहरीले चलाएको गोली प्रहारबाट कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय, सुनसरीका एसपी निर्मलकुमार थापाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

भारतबाट चिनी तस्करी गरिरहेको अवस्थामा पुस १७ गते बिहान तस्करी गर्नेहरूलाई नियन्त्रणको प्रयास गर्दा प्रहरीमाथि गोली प्रहार भएपछि सशस्त्र प्रहरीले पाँच राउण्ड गोली प्रहार गरेको एसपी थापाले बताउनु भयो ।

स्थानीयले भने सशस्त्र प्रहरीले गोली प्रहार गरी साहको हत्या गरेको आरोपमा दोषीलाई कारबाही सहित पीडित परिवारलाई न्यायको माग गर्दै शव पूर्व पश्चिम राजमार्गको इनरूवा–इटहरी सडक खण्डको लौकहीमा राखेर विरोध गरिरहेका छन् ।

भारतबाट चिनी तस्करी गरेको आरोपमा प्रहरीले साहसँग नजराना ५ सय रुपियाँ मागेको र सो रकम नदिएपछि सशस्त्र प्रहरीले गोली प्रहार गरी हत्या गरेको कोशी गाउँपालिका–१ का वडाध्यक्ष सोभितनारायण यादवले बताउनु भयो ।

पूर्व पश्चिम राजमार्गमा शव राखेर विरोध गरेपछि प्रहरीले हवाइ फायरसहित अश्रुग्यास प्रहार गरेको छ ।

 

जयकृष्ण यादव

अन्य

भिडियो