कुमाख गाउँपालिका–२ रुमाल गाउँमा रहेको नारायण माविमा कक्षा १० मा अध्यानरत छात्र राजु हमाललाई सोही विद्यालयका शिक्षक हिमबहादुर बुढाले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको परिवारले आरोप लगाएको छ ।
आउँदै गरेको एसइइको तयारीका लागि कोठा लिएर पढ्दै गरेका विद्यार्थीलाई माघ १७ गते कोठामै गएर शिक्षकले बाँसको लठ्ठीले कुटपिट गरेर घाइते बनाएको पीडित विद्यार्थीका बुबा गणेश हमालले बताए ।
घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको र स्वास्थ्यमा समस्या देखिएकाले थप उपचारका लागि परिवारले अन्यत्र लैजाने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
विद्यार्थी माथि कुटपिट गर्ने शिक्षकलाई अस्थाई प्रहरी पोष्ट नेटाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।
विद्यालयका प्रधानध्यापक देवेन्द्र रावतले विद्यार्थीमाथि कुटपीट भएको स्वीकार गरेका छन् । ‘कक्षा १० को ट्यूसन पढेर विद्यार्थीहरू घर फर्कँदा विद्यालय कक्षाकोठा बन्द गर्ने क्रममा शिक्षक भित्रै थुनिएका रहेछन् ।’–प्रअले भने–‘अन्तिममा रहेका विद्यार्थी राजु हमालले कक्षा कोठाकोठा बाहिरबाट बन्द गरेका रहेछन् । शिक्षक भित्र छन् भन्ने थाहा नपाएका उनले ढोका बन्द गरेर आफ्नो कोठा तिर लागेछन् । पछि शिक्षकले थाहा पाएपछि रिसको झोकमा विद्यार्थीकै कोठामा गएर कुटेको थाहा पाएँ ।’
अहिले यस विषयमा विद्यालय व्यवस्थापन समिति र पीडित पक्षबिच छलफल भइरहेको र त्यसपछि उचित निकास निकाल्ने प्रधानाध्यापक रावतले बताए ।