निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालाहरुलाई त्यसमा भएका व्यवस्थाहरुबारे सार्वजनिक जानकारी गराएको छ । आयोगको वेबसाइटमा ०८२ पुस १३ गते प्रकाशित आचारसंहितामा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने, निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न वा झुटा साइ६ खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टिजेन्स (ए.आइ.) को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नपाइने व्यवस्था गरेको छ ।
त्यसैगरी कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई आर्टिफिसियल इन्टिलिजेन्स (ए.आइ.) को प्रयेग गरि वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा पोस्ट, शेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन लगायतका कार्य गर्न वा गराउन नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पुस १३ गते जारी गरेकाे विज्ञप्ति अनुसार आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ ।
यस्तै सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आयोगद्वारा जारी आचारसंहिता लागु हुनेछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम गर्न हरेक निर्वाचनअघि यस्तो आचारसंहिता जारी गर्ने गरिएको छ ।