INSEC Online

📅 २०८३ जेष्ठ २१

शरीर बन्धक बनाइ बेचबिखन प्रयास गरेको कसुरमा एक वर्ष कैद फैसला

२४ वर्षीया एक महिलालाई बेचबिखन तथा ओसार–पसार गरेको कसुरमा तुम्बेवा गाउँपालिका– १ का २८ वर्षीय दिलबहादुर दाहाललाई जिल्ला अदालतले माघ १५ गते एक वर्षको कैद फैसला सुनाएको छ ।

न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको हो । पीडितलाई भदौ ५ गतेदेखि १७ गतेसम्म बन्धक बनाई बेचबिखन प्रयास तथा ओसारपसार गरेको आरोपमा भदौ २२ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो ।

प्रहरीले आरोपितलाई भदौ २१ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको असोज १५ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

सोही घटनाका अन्य पाँच जना आरोपितलाई भने अदालतको सोही फैसलाले सफाई दिएको थियो । तुम्बेवा गाउँपालिका–१ का ५० वर्षीय डम्बरकुमार दाहाल, ५० वर्षीया छलिमाया दाहाल, ४४ वर्षीय श्यामबहादुर दाहाल, ४१ वर्षीया भूमिका दाहाल र २९ वर्षीय मित्रकुमार दाहालले पनि सफाई पाएका थिए ।

उनीहरूलाई प्रहरीले भदौ २५ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशले उनीहरू असोज १५ गते जनही २५ हजार रूपियाँ धरौटी बुझाई तारिखमा छुटेका थिए ।

मुद्दाको फैसलापछि कसुरदारलाई कैद भुक्तान गर्न जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी यामबहादुर चौहानले बताए ।

अन्य

भिडियो