कुमाख गाउँपालिकास्थित बुद्घ जनकल्याण माविमा विगत साढे तीन महिनादेखि विषयगत शिक्षक नहुंँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
कात्तिक महिनादेखि कक्षा नौ र कक्षा १० को विज्ञान विषयको पढाई ठप्प हुँदा पठनपाठनमा समस्या भएको कक्षा १० मा अध्ययनरत छात्र विनोद बुढाथोकीले बताए । साढे तीन महिना बितिसक्दा समेत शिक्षकको पदपूर्ति नहुँदा विज्ञान विषयको कोर्ष अधुरै रहेको उनले गुनासो गरे ।
यस्तै आठ कक्षाको विज्ञान, गणित र पेशा व्यवसाय (नयाँ कोर्ष) विषयको कोर्ष पनि साढे तीन महिनादेखि बन्द भएको कक्षा आठमा अध्ययनरत छात्र दीपक केसीले जानकारी दिएका छन् ।
विगत चार महिनादेखि शिक्षक सरुवा भएर गएको र कोही घर विदामा गएका शिक्षक पनि नफर्किएपछि ती विषयको अध्ययन गर्न समस्या भएको उनले गुनासो गरेका हुन ।
विद्यार्थी शिक्षाको अधिकारबाट वञ्चित हुँदासमेत सरोकारवालाले ध्यान नदिँदा विद्यार्थीले माघ १४ गते विद्यालयमा तालाबन्दी गरेका छन् ।
वार्षिक परीक्षा आउन केही महिनामात्रै बाँकी रहँदासमेत विद्यालयले विषयगत शिक्षकको विकल्प नखोजेको भन्दै तालाबन्दी गर्नु परेको कक्षा नौ मा अध्यनरत छात्र युवराज खड्काले जानकारी दिए ।
‘हामीले विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिसँग पटकपटक पढाई सञ्चालन गर्न शिक्षकको माग ग¥यौँ । तर, अहिलेसम्म पनि सुनुवाइ भएन ।’–उनले भने–‘हामीले पढ्न पाउने अधिकारबाटै वञ्चित हुनुपर्दा समेत कसैले वास्ता गरेनन् । त्यसैले बाध्य भएर विद्यालयमा तालाबन्दी गरेका हौँ ।’
विद्यालयमा तत्काल शिक्षकको पदपूर्ति गर्नुपर्ने र सबै विषयको नियमित कक्षा सञ्चालन गर्ने लिखित सहमति नहुँदासम्म तालाबन्दी नखोलिने लगायतका नौ बुँदे माग आफूहरूको रहेको खड्काले जानकारी दिए ।
गाउँ शिक्षा इकाई प्रमुख तुल्सी शर्माले एक हप्ताभित्र परीक्षा गराई विषयगत शिक्षक ल्याउने तयारी भइरहेको बताए ।