कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पछिल्लो दुई साता यतादेखि निःशुल्क औषधीहरुमा उच्च रक्तचाप, मधुमेह र गर्भवती महिलाका लागि अत्यावश्यक मानिने क्याल्सियम, आइरन चक्की र फोलिक एसिड औषधीको अभाव भएको छ ।
गाउँपालिकाले समयमै खरिद प्रक्रिया अगाडी नबढाएका कारण पालिकाका स्वास्थ्य चौकीहरूमा निःशुल्क रूपमा वितरण गर्दै आएको क्याल्सियम र आइरन चक्की अभाव भएको हो ।
पालिकाको वडा नम्बर ४ स्थित अमलोनहामा रहेको पर्शोहिया स्वास्थ्य चौकीमा पछिल्लो दुई सातादेखि पालिकाले समयमै आपूर्ति नगर्दा क्याल्सियम, आइरन चक्की र फोलिक एसिडको अभाव देखिएको हो ।
स्वास्थ्य चौकीमा कार्यरत अनमी भुवनेश्वरी सिंहले पछिल्लो एक महिना यता पालिकाबाट औषधी आपूर्ति नभएका कारण गर्भवती महिलालाई क्याल्सियम, आइरन चक्की र फोलिम एसिड दिन नसकिएको बताउनुभयो ।
पालिकाबाट उपलब्ध हुने निःशुल्क औषधीहरुमा दिर्घरोग रक्तचाप र मधुमेहको औषधी सहितको लागि १ करोड रुपियाँ बजेट विनियोजन गरेको भए पनि पालिकाका स्वास्थ्य चौकीहरूमा अहिले मधुमेह र रक्तचापको औषधी समेत नहुँदा सेवाग्राहीहरु मर्कामा परेको स्थानीय जोखन थारुले बताउनुभयो ।
सङ्घीय सरकारबाट निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधिमध्ये केही प्रदेश, केही संघ र केही स्थानीय तहले छुट्टाछुट्टै जिम्मेवारी लिएर व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । तर पालिकाले समयमा निर्णय नगर्दा गर्भवती महिलाहरू स्वास्थ्य सेवाबाट बञ्चित भएका हुन ।
यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र कुमार मिश्राले औषधी अभावले मधुमेह र रक्तचापको औषधी सकिँदा बिरामी रित्तो हात फर्किने गरेको र आफूले हालै मात्र स्वास्थ्य शाखाको जिम्मेवारी लिएको जनाउँदै पालिकाको सबै औषधीको ढिलो गरी एकमुष्ट औषधी खरिद प्रक्रिया अगाडी बढाएकाले समस्या निम्तिएको बताउनुभयो ।
पालिकामा औषधीको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै औषधीको अभाव समाधान हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषवदेव खनालले बताउनु भयो ।