हेटौंडा उपमहानगरपालिकामा सडक विस्तारको क्रममा ०८२ मंसिर २० गते सडक डिभिजनले डोजर प्रयोग गरी भत्काएर अधुरो छोडिएका घरहरू अहिले मजदुर लगाएर भत्काउने काम भइरहेको छ । तर, कुनै पनि प्रकारको सुरक्षा व्यवस्था नगरी काम लगाइँदा हालसम्म कम्तिमा पाँच जना मजदुर गम्भीर घाइते भएका छन् ।
पर्सा जिल्ला स्थायी घर भई हेटौंडामा मजदुरी गर्दै आएका ३६ वर्षीय लोरिक यादव ०८२ मंसिर २६ गते तीन तला माथिबाट सिमेन्टको ठूलो भारसहित खस्दा गम्भीर घाइते भएका थिए । आठ वर्षदेखि निर्माण मजदुरी गर्दै आएका यादवको ढाडको मेरुदण्डमा गम्भीर चोट लागेपछि हेटौंडा–१ भिन्तुनापथ स्थित सन्चो अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । काठमाडौंबाट चिकित्सक बोलाएर उनको हार्डजोर्नीको अपरेसन समेत गरिएको छ ।
यादवकी श्रीमती बबिता देवी यादव भन्छिन्, “काम नगरे बिहान–बेलुका हातमुख जोड्न सकिँदैन । काम गर्दा ज्यानको सुरक्षा छैन । उपचारका लागि पैसा छैन ।”
६ वर्षको छोरा सहितको परिवार लोरिक यादवकै मजदुरीमा निर्भर थियो । हालसम्म उपचार खर्च झण्डै ४ लाख रुपियाँ नाघिसकेको छ तर काम लगाउने ठेकदारले कुनै रकम नदिएको परिवारको गुनासो छ । घरधनी तथा ठेकदार दुवैसँग सम्पर्क हुन नसकेको पीडित बबिता देवी यादवले बताउनु भयो ।
सन्चो अस्पतालका म्यानेजर तिर्थ श्रेष्ठका अनुसार करिब ४ लाख रुपियाँ बराबरको उपचार अस्पतालले उधारोमै गरिरहेको र खर्च व्यहोर्नुपर्ने अवस्था अस्पतालमा नै आइपरेको हो ।
यस्तै, हेटौडाको बुद्ध चोकमा काम गर्दै आएका रौतहट नगरपालिका–७ का २० वर्षीय जितेन्द्र माझी दुई तला माथिबाट खसेर ०८२ मंसिर २४ गते गम्भीर घाइते भएका छन् ।
लसालै उनको टाउकोमा अपरेसन गरिएको छ, हातमा स्टिल राखिएको छ भने ढाडमा समेत समस्या देखिएको छ । उपचारमा सहयोगका लागि उहाँकी भाउजू बबिता देवी माझीले हेरचाह गरिरहनु भएको छ । कति दिन अस्पतालमा राख्नुपर्ने भन्ने अझै निश्चित नभएको पीडित माझिको भनाइ छ ।
यसैबीच ०८२ मंसिर २८ गते दिउँसोे हेटौंडा–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको बिकी जैसवालको घर भत्काउने क्रममा थप तीन जना मजदुर घाइते भएका छन् ।
घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–१ रानिसेरा निवासी २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट –९ का २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१ का ३० वर्षीय अरुण चौधरी रहेका छन् । सोहि दिन उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी हेटौडा अस्पताल पठाएको छ । सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख मोहनराज जोशीले सडक विस्तार र संरचना हटाउने क्रममा दुर्घटना नहोस् भनेर सरोकारवाला निकायसँग मौखिक तथा लिखित रूपमा सम्झौता भइरहेको दाबी गर्नुभएको छ ।
उहाँले “सुरक्षाको प्रत्याभूतिका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको र प्रहरीमार्फत सुरक्षा कडाइ गरिएको बताउनु भयो ।
मजदुरहरुका अनुसार ठेकदारले काम लगाएको अवस्थामा उपचार खर्च आधा–आधा व्यहोर्नुपर्ने प्रावधान भए पनि व्यवहारमा भने ठेकदारहरू पन्छिँदै आएको पीडित परिवारको आरोप छ । सडक विस्तारका नाममा संरचना अधुरो भत्काएर छोड्दा त्यसको जोखिम मजदुरले बोक्नुपरेको छ । कुनै हेल्मेट, सेफ्टी बेल्ट, जाली वा अन्य सुरक्षात्मक उपकरण बिना नै काम गर्न बाध्य मजदुरहरू अझै पनि सयौँको संख्यामा सुरुक्षा जोखिमबीच काम गरिरहेका छन्।
हेटौंडा सडक विस्तारले मजदुरहरु कार्यस्थलमा आवश्यक सुरक्षा उपभोग गर्न पाउने हकबाट बञ्चित भएका छन् । नेपाल अन्र्तराष्ट्रिय श्रम कानुनहरुको पक्ष राष्ट्र बनेको छ । नेपालमा श्रमिकहरुको हक अधिकार सम्बन्धी व्यवस्था नेपालको संविधान, २०७२ को धारा ३४ मा उल्लेखित श्रमिकको हक र श्रम ऐन २०७४ लयागतका कानुनी व्यवस्थाहरु मार्फत संरक्षित गरिएता पनि कार्यान्वयनमा बाधा भएका कारण यस्ता घटनाहरु हुने गरेका छन् ।
राज्य, ठेकदार र घरधनीको लापरबाहीका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र उनका परिवारको भागमा आँसु र ऋण मात्रै थुप्रिरहेको छ । पीडित सहायता कोषको अभाव र त्यसको उचित र प्रभावकारी प्रयोग नहुँदासम्म नेपालमा पीडित पक्षले राज्यबाट तत्काल राहत र क्षतिपूर्ति नपाउने देखिन्छ ।