चौतारा सागाचोकगढी नपा–७ स्थित सानुसिरुवारीको स्वास्थ्य चौकीमा औषधि नहुँदा सेवा लिन आएका बिमारीहरू बिना औषधि खाली हात फर्कनु परेको छ ।
औषधि खरिद गर्ने जिम्मा नगरपालिकाको भएको र अहिलेसम्म नगरपालिकाबाट आउनुपर्ने औषधि नआएकोले बिरामीहरूलाई औषधि दिन नपाएको स्वास्थ्य चौकीका अनमी लक्ष्मी श्रेष्ठले बताइन् ।
स्वास्थ्य चौकीमा औषधि अभाव भएको बारे सम्बन्धित वडाका अडा अध्यक्ष उमाप्रसाद दुलालसँग जिज्ञासा राख्दा आफूले नगरपालिकालाई ताकेता गरिरहेको बताए ।
चौतारा सागाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुलीले भने नगरपालिकाबाट पठाउनुपर्ने सबै स्वास्थ्य चौकीका औषधिहरू पठाइसकेको तर पुग्न समय लागेको हुनसक्ने बताइन् ।
सबै निकायबाट सकारात्मक कुरा आएको भएपनि स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिरामीलाई औषधि दिन नपाएर समस्या भएको सम्बन्धित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको भनाई छ ।