१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका– १ का ५९ वर्षीय गणेशप्रसाद जैसी खनाललाई कसुर ठहर गर्दै चार महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको मंसिर २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै चार महिना कैद सजाय, ५ हजार रुपियाँ जरिबाना, २ हजार ५ सय रुपियाँ क्षतिपूर्ति र २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत श्रेस्तेदार कमल घलेले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८२ भदौ १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १९ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई भदौ १९ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ १९ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको थियो ।