भद्रपुर नपा–९ स्थित मानसा सिमेण्ट उद्योगमा कार्यरत ६२ वर्षीय कमलसिंह दुगडको अज्ञात पक्षले माघ १२ गते हत्या गरेको प्रहरीले जनाएको छ ।
स्थायी ठेगाना भारतको विशाखापट्टनम् भएका उनी दुई वर्षयता सो उद्योगमा व्यवस्थापकको रूपमा कार्यरत रहेका थिए ।
माघ १२ गते बिहान उनी बस्दै आएको कोठामा गोडा बाँधिएको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव फेला परेकाले हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
यो समाचार तयार पर्दासम्म शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा गरिने तयारी भइरहेको छ ।
नेपालमा पीडितका नातेदार मात्रै रहेका परिवारलाई पर्खनु परेका कारण शवको पोष्टमार्टममा ढिलाई भएको डिएसपी श्रेष्ठले बताए ।
पोष्टमार्टमपछि आजै पीडित परिवारलाई शव जिम्मा दिने प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी थालिएको प्रहरीको भनाई छ ।