INSEC Online

📅 २०८३ जेष्ठ २१

सिङ्गो पालिका नै पहिरो र भूकम्पको उच्च जोखिममा

हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट गाउँपालिका पहिरो र भूकम्पका दृष्टिले अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको छ । गाउँपालिका भरिका बस्ती दलदले तथा सिमसार किसिमका माटोमा बनेका भएकाले थोरै पानी पर्दा पनि पहिरो खस्ने र सामान्य कम्पनमै जमिन हल्लिने समस्या देखिएको स्थानीयवासी बताउँछन् ।

गाउँपालिकाका पाँचै वडाका बस्ती जोखिममै रहेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले जानकारी दिनुभयो । ‘जमिन भिरालो छ, सिमसार खालको छ । पानी परेपछि तुरुन्तै जमिन चिरिन्छ, पहिरो खस्छ,’अध्यक्ष जैसीले भन्नुभयो, ‘गाउँ सभाबाटै सबै बस्तीलाई पहिरो तथा भूकम्पको उच्च जोखिम क्षेत्र घोषणा गरिएको छ ।’

गाउँपालिका केन्द्र छप्रेलामा निर्माण गरिएको नयाँ सुविधा सम्पन्न भवनसमेत पहिरोको उच्च जोखिममै रहेको उहाँले जानकारी दिनुभयो । विशेषगरी वडा नम्बर ४ को उत्तिस्यानी बस्ती सबैभन्दा बढी जोखिममा रहेको अध्यक्ष जैसीले बताउनु भयो ।

भूकम्पीय जोखिमसमेत उच्च रहेको गाउँपालिकामा सामान्य कम्पन आउँदा पनि जमिन हल्लिने र भासिने समस्या देखिने गरेको वडा नम्बर ४ का स्थानीय तिलक शाहीले बताउनु भयो । यसले भविष्यमा ठुलो मानवीय तथा भौतिक क्षतिको सम्भावना बढाएको उहाँको भनाइ छ ।

‘बर्खा लागेपछि पहिरोले खेतबारी बगाउँछ, घरधुरीमा डर त्रास बढ्छ । कुनै पनि बेला ठूलो विपत्ति पर्न सक्छ,’उहाँले भन्नुभयो । सरकारले जोखिम क्षेत्रका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने उहाँको माग छ । दुई वर्षअघि पहिरोमा परी एक जनाको मृत्यु भएको थियो ।

 नन्द सिंह

अन्य

भिडियो