अव्यवस्था, भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिवन्ध र राष्ट्रहितको माग गर्दै जेनजी पुस्ताले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनपछि विस्थापित भएका जिल्लाका सात ओटा चौकी पुन:स्थापित गरिएका छन् ।
जेनजी आन्दोलन र त्यसपछिको सुरक्षा चुनौतीका कारण विस्थापित भएका जिल्लाका सात ओटा प्रहरी चौकी पुनःस्थापना भएका हुन् ।
सुरक्षा खतरालाई मध्यनजर गर्दै सदरमुकाम केन्द्रित गरिएका चौकीहरू स्थानीय बासिन्दाको मागपछि पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पुनःस्थापना भएका चौकीहरूमा प्रहरी चौकी सिंहापुर, गोपेटार, फलैंचा, अस्थायी प्रहरी पोस्ट भुल्के, ओयाम, थोक्लिम्बा र आङसराङ छन ।
प्रहरी चौकीहरू सदरमुकामसहित विभिन्न चौकीमा गाभिएपछि स्थानीय बासिन्दाले पुनःस्थापनाको माग गर्दै आएका थिए । प्रहरी नहुँदा आपराधिक घटनाहरूमा वृद्धि हुने र आसन्न निर्वाचन सुरक्षामा समेत प्रभाव पर्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी अनिशकुमार कर्णले विस्थापित चौकीहरूमा चरणबद्ध रूपमा प्रहरी कर्मचारी पठाइएको बताउनु भयो । सिंहापुर र भुल्केमा ०८२ मङ्सिर १८ गते र अस्थायी प्रहरी पोस्ट ओयाममा मङ्सिर २० गते प्रहरी पुगेका छन् ।
अन्य प्रहरी चौकीहरूमा भने केही दिनअघि नै कर्मचारी पुगिसकेको डीएसपी कर्णले बताउनु भयो । स्थानीयको माग सम्बोधन गर्दै सुरक्षा अवस्थालाई सुदृढ पार्न ती चौकीहरू पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।