चिकित्सा शिक्षामा सुधारको माग गर्दै नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको माग राखी १४ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले अनसनरत डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरिरहेको छ । आयोगको टोलीले महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको छ ।
‘चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सम्बन्धित पक्षलाई आयोग आग्रह गर्दछ ।’–विज्ञप्तिमा भनिएको छ ।
‘डा. केसीसँग नेपाल सरकारले विगतमा पटकपटक गरेका सम्झौताहरुमा गम्भीर हुँदै उनको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । साथै, आपसी विमतिका विषयहरु सम्बन्धमा वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।’–विज्ञप्तिमा उल्लेख छ ।