खार्पुनाथ गाउँपालिका–५ स्थित मानधारा माध्यामिक विद्यालय भकुण्टामा दुई महिनादेखि खानेपानीको अभाव भएको छ । उक्त विद्यालयमा रहेको खानेपानीको संरचना पहिचान नखुलेको समूहले ०८२ असोज १५ गते तोडफोड गरेपछि विद्यालयका विद्यार्थी र शिक्षकहरूले खाने पानीको समस्या झेल्दै आएका छन् ।
पहिचान नखुलेको समूहले पाइप र ट्यांकी भत्काएपछि खानेपानीको समस्या भएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताउनु भयो ।
विद्यालयमा पिउने पानीको अभाव भएसँगै दिवा खाजा कार्यक्रम पनि प्रभावित भएको छ । त्यस्तै शौचालयहरु समेत प्रयोगविहिन रहेको प्रधानाध्यापक शाहीले गुनासो गर्नुभयो । हरेक वर्ष पानीमा तोडफोड हुँदा सास्ती भइरहेको उहाँको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् खार्पुनाथ गाउँपालिका–५ का वडा अध्यक्ष भरतजंग शाहीले हरेक वर्ष विद्यालयको खानेपानीमा तोडफोड हुने गरेको भन्दै तत्काल बनाउन आर्थिक अभावका कारण सम्भव नभएको बताउनु भयो ।