INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकाको ०८२ असोज २१ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–२ फडानी, स्कूल चोकका ५९ वर्षीय पदमबहादुर अधिकारीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।

बालिकाको बलात्कारपछि हत्या गरेर ०८२ कात्तिक १९ गतेदेखि भारतको मेघालयमा लुकेर बस्दै आएका आरोपितलाई प्रहरीले घरपरिवारको सहयोगमा नेपाल बोलाएर घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कवित कटुवालले ०८२ मङ्सिर २१ गतेको पत्रकार सम्मेलनमा बताउनु भयो ।

लेटाङ नगरपालिका–२ फडानी, स्कूल चोककी १३ वर्षीया बालिकाको घरबाट हराएको १८ दिनपछि लेटाङ नगरपालिका–२ र बेलवारी नगरपालिकालाई जोड्ने बेलवारी चिसाङ सामुदायिक वन क्षेत्रमा ०८२ कात्तिक ७ गते विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

लेटाङ नगरपालिका–२ फडानी, स्कूल चोककी १३ वर्षीया बालिका ०८२ असोज २१ गते घरबाट हराएकी थिइन् । हराएको १८ दिनपछि ०८२ कात्तिक ७ गते लेटाङ–वेलवारी नगरपालिका–२ सिमानासँगैको वेलवारी चिसाङ जङ्गल क्षेत्रमा बालिकाको शव विभत्स अवस्थामा फेला परेको थियो ।

घाँस दाउरा गर्ने स्थानीय लोचन शाहीले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । इलाका प्रहरी कार्यालय, लेटाङ र प्रहरी चौकी बुधवारेले घटनास्थललाई कभर गरी अनुसन्धान गरेपनि प्रहरीले घटना भएको दुई महिनापछि मात्र आरोपितलाई गिरफ्तार गरेको हो ।

मोवाइलको प्रलोभन पारी हत्या

मृतक बालिकाले हजुरबुवा भनि बोलाउने र वल्लोपल्लो घर भएका आरोपितले बालिकालाई मोवाइल चलाउन दिने प्रलोभनमा ०८२ असोज २१ गते लेटाङ–वेलवारी नगरपालिका–२ सिमानासँगैको वेलवारी चिसाङ जङ्गल क्षेत्रमा पुर्‍याएको अनुसन्धानका क्रममा खुलेको छ । ०८२ असोज २१ गते बालिका घर नजिकै पिङ खेलिरहेको अवस्थामा आरोपितले घाँस काट्न सघाइदिए मोवाइल चलाउन दिनेभनि प्रलोभनमा पारेको प्रहरीले जनाएको छ । बालिकालाई मोवाइल चलाउन दिने लोभमा घरभन्दा झण्डै चार किलोमिटर टाढा रहेको वेलवारी नगरपालिका–२ सिमानासँगैको वेलवारी चिसाङ जङ्गल क्षेत्रमा पुर्‍याएर बलात्कारपछि हसियाँले घाँटी रेटेर हत्या गरेको आरोपितले प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीलाई झुक्याउने प्रयास

०८२ असोज २१ गते साँझ ५ बजेतिर बालिका घरभन्दा झण्डै चार किलोमिटर टाढा रहेको वन क्षेत्रमा कसरी पुगिन् भनि प्रहरीलाई अनुसन्धानमा समस्या भएपछि आरोपितले प्रहरीलाई झुक्याउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले ०८२ कात्तिक ७ गते घटनास्थललाई घेरा हालेपछि आरोपितसमेत त्यही भिडमा बसेर ‘मेरी नातिनी जस्ती थिइ, कसरी यस्तो भयो भन्दै बिलौना गर्दै आएका थिए’ प्रहरीले मृतक बालिकाको घरसहित वरपर र छिमेकीको भिलेज प्रोफाइल तयार गर्दा समेत आरोपितले प्रहरीलाई सहजीकरण गर्दै आएका थिए । ०८२ कात्तिक १८ गते आरोपितका छोरा घर आएपछि  आरोपित पदमबहादुर अधिकारी कात्तिक १९ गते सबेरै घरबाट भारत लागेका थिए । अरूबेला मृतक परिवारको पीडामा उस्तै गरी विलौना गर्ने, प्रहरीलाई अनुसन्धानमा सहजीकरण गरेजस्तो गर्ने तर गाउँभरीका मानिसको अनुसन्धान भइरहेका बेला कात्तिक १९ गते अचानक पदमबहादुर हराएपछि प्रहरीले अनुसन्धानलाई उनीमाथि नै केन्द्रित गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एसपी कटुवालले बताउनु भयो ।

मेघालयमा गोठमा काम

भारतको मेघालयमा गएर गाइगोठमा काम गरेको र गाई दुहुने क्रममा बालिकाको अनुहारसहित बाल्टिमा समेत रगत देख्ने गरेको आरोपितले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् ।

कर्तव्य ज्यान र बलात्कार शीर्षकमा मुद्दा दर्ता

प्रहरीले ३ सय बढीको लिखित जवाफ र अनुसन्धानपछि घटनामा पदमबहादुरको एक्लो संलग्नता रहेको निश्कर्षसहित जिल्ला अदालतमा ०८२ मङ्सिर २० गते कर्तव्य ज्यान र बलात्कार शीर्षकमा मुद्दा दर्ता गराएको छ ।

शव वीपीको मर्चरीमा

घरबाट ०८२ असोज २१ गते हराएकी बालिकाको शव १८ दिनपछि ०८२ कात्तिक ७ गते जङ्गलमा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा फेला परेपछि शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपा लगिएको थियो । पीडित परिवारले दोषी गिरफ्तार नभएसम्म शव नबुझ्ने अडान राखेपछि शव अहिले वीपीको मर्चरीमा राखिएको छ । ०८२ मङ्सिर २२ गते कानुनी प्रक्रिया पुर्‍याएर शव पीडित परिवारलाई जिम्मा दिने तयारी प्रहरीले गरेको छ ।

विनोद सुवेदी

अन्य

भिडियो