आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कुसुरमा राजगढ गाउँपालिका–२ बननिया कमलपुरका १९ वर्षीय महबुद मियाँलाई जिल्ला अदालत सप्तरीले पुस २९ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश उमेश कोइरालाको इजलासले आरोपित मियाँलाई पाँच वर्ष कैद सजायको फैसला गरेको र सोही आरोपमा मुछिएका १३ वर्षीय दुई बालकलाई सफाई दिने फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए ।
पीडितकी आमाले बलात्कारको उजुरी दर्ता गराए पनि जिल्ला अदालतले बलात्कार नभई ‘बलात्कार प्रयास’ भएको पुष्टि गर्दै पाँच वर्ष कैद सजायको फैसला गरेको हो । फैसलापछि आरोपित फरार भएका छन् ।
घरबाट बाख्रा चराउन निक्लिएकी बालिकालाई राजगढ गाउँपालिका–२ कमलपुरस्थित नहरको कल्भर्टमुनी ०७३ भदौ १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले सोही दिन इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७३ भदौ १५ गते नै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गरिएको थियो ।
प्रहरीद्वारा ०७३ भदौ १५ गते गिरफ्तार आरोपितहरू तीनै जना नाबालक देखिएको भन्दै तत्कालिन जिल्ला न्यायाधीश शङ्करबहादुर राईको इजलासले ०७३ भदौ १६ गते छाड्न आदेश दिएको थियो ।
तर, आरोपित महबुदको उमेर १९ वर्षको प्रमाणित भएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले पुनः ०७३ भदौ २१ गते गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।
तत्कालिन जिल्ला न्यायाधीश राईकै आदेशमा आरोपित महबुद १५ हजार रूपियाँ धरौटी राखी ०७३ असोज १२ गते तारेखमा रिहा भएका थिए ।